काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले विपद्मा परेका नागरिकलाई छिटो उद्धार, राहत र पुनःस्थापनामा जुट्न सांसदहरुलाई आह्वान गरेका छन् ।


ADVERTISEMENT


उनले आज जारी गरेको अपिलमा विपद्का बेलामा सांसदहरुले सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी आआफ्नो ठाउँबाट पहल गर्न प्रदेश र स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको उल्लेख विपत्तिमा परेका नागरिकको यथाशक्य छिटो उद्धार, राहत र पुनःस्थापनाका लागि एकजुट भएर लाग्न सम्बद्ध सबैमा अनुरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


“विपद्बाट बच्ने उत्तम उपाय जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न, पूर्वसूचना प्रणालीको विकास र यसको उच्चतम् प्रयोग गरी विपद्बाट बच्न र क्षतिको न्यूनीकरण गर्न हामीसँग उपलब्ध सबै खाले स्रोत, साधन र संयन्त्रको उच्चतम प्रयोग गर्न अनुरोध गर्दछु”, अपिलमा भनिएको छ ।

सरकारकातर्फबाट पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनःस्थापनाका लागि प्रयास भइरहेको उल्लेख गर्दै यस प्रयासलाई गुणात्मकरुपमा बढाउन जरुरी भएको बताइएको छ । सभामुख सापकोटाले तयारीलाई तीव्रता दिन, बेपत्ताको खोजी र अवरुद्ध हुन पुगेका सडक सञ्चालनका लागि विशेष अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्

मनसुन जारी रहेकाले खासगरी जोखिममा रहेका भूभाग, नदी किनार, कटान तथा डुबान दोहोरिने क्षेत्रमा बसोबास गरेकाहरुलाई विशेष सतर्कता अपनाउनसमेत उनले अपिल गरेका छन् ।

सिन्धुपाल्चोकका २० सहित दर्जनौँ नागरिक बेपत्ता छन् । सयौँ घाइते छन् । मृत्यु र बेपत्ता हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ । गुल्मी, सङ्खुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, रुकुम पश्चिम, गोर्खा, पर्वतलगायतका हिमाली र पहाडी जिल्लामा बाढी, पहिरा र डुबानका कारण ८०० हाराहारी परिवार विस्थापित हुन पुगेका छन् । तराईका जिल्ला जलमग्न भएका छन् । ती स्थानमा राष्ट्रिय, क्षेत्रीय र ग्रामीण सडक तथा पुलमा क्षति पुगेको छ । निरन्तरको वर्षाका कारण बाढी पहिराबाट एक महिनाभित्र देशका १९ जिल्लाका ८८ जना नागरिकको ज्यान गइसकेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ५ स्थित जम्बु, खागदल, भोटकोशीको बुलकुटे, म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिका, कास्कीको सराङकोट, हेम्जा र पैतेडाँडा, जाजरकोटको बारेकोट गाउँपालिकामा बाढी र पहिराका कारण जनधनको ठूलो क्षति भएको छ ।

कोभिड–१९ का कारण उत्पन्न यस शताब्दीकै विषम परिस्थितिसँग जुध्दै गर्दा हामीलाई अर्को प्राकृतिक विपत्ति आइपरेको छ । यही असार २४ गते यताको निरन्तरको भारी वर्षाका कारण देशका अधिकांश जिल्लामा बाढी, पहिरो र डुबानले ठूलो मानवीय र भौतिक क्षति हुन पुुगेको छ ।