काठमाडौं । आमूल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीले सरकारले नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेर आफ्नो आयु बढाएको बताएका छन् । उनले सर्वत्र आलोचना खेपिरहेको सरकार यो कामपछि थोरै भएपनि सहज अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
उनले यति गरेर मात्र सरकारको दायित्व पूरा नहुने भन्दै सरकारलाई सचेत र जिम्मेवार हुन आग्रह गरेका छन् । उनले सरकार आन्तरिक समस्यामा भएको र ढल्ने अवस्थामा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेर संकट टारेको बताएका छन् । उनले यसअघि कसैले नगरेको यो कामको प्रशंसा गरेका छन् । उनले नक्सामात्र ल्याएर जनतालाई झुक्याउन नहुने समेत स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


‘सरकारका एक हजार गल्ती होलान् तर यो सीमाको विषयमा देखाएको गम्भीरता प्रशंसायोग्य छ’ उनले भने ‘ सरकारले अनावश्यक गफ नगरेर सधैं जनताको मन छुने खालका काम गर्दै त्यसै अनुसारका योजना ल्याउनु जरुरी छ ।’ सरकारले गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको भन्दै उनले झण्डै दुई तिहाई नजिकको सरकारले जनताका गुनासालाई सम्बोधन गर्न चासो नदिएको आरोपसमेत लगाए । पार्टीले सीमा विवाद समाधान गर्न भारतीय दूतावाससहित पहल गरिदिनका लागि अन्य दुतावासमा पनि ज्ञापनपत्र बुझाइसकेको छ । समसामयिक राजनीतिमा चासो राख्दै आएको पार्टीले सरकार र नेताहरु जिम्मेवार नभएकाले यो असहज अवस्था आएको निश्कर्ष निकालेको छ ।


ADVERTISEMENT

# # #


उनले यो सरकारलाई जनताले धेरै पत्याएको भएपनि काम गर्न नसकेकोमा आपत्ति जनाएका छन् । ‘यो सरकारबाट जनताले केही पाउँछन् भन्ने सोच्नु भनेको मरुभूमिमा खोला बग्छ भनेर कल्पना गर्नुजस्तो हो’ अध्यक्ष गिरीले भने ‘ सरकार चरम रुपमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ, अनियमितता र अस्थिरता बढ्दै गएको छ, यो राम्रो लक्षण होइन ।’ उनले आफूहरुको सरकार बनेपछि अहिले देखिएका समस्याको पहल गर्ने दावी गर्छन् । उनले आफूहरुसँग योजना भएको र त्यसलाई कार्यान्वयन गरेर सबैको मन जित्नेमा उनी ढुक्क छन् । तर राम्रो काम गर्न नदिन कसैले अवरोध गर्छन् कि भन्ने चिन्ता पनि छ उनलाई । उनले शिक्षामा समानता, सबैको निःशुल्क उपचारको व्यवस्था गर्न, बुढ्यौली उमेर पुगेकालाई सुविधाजनक ढंगले व्यवस्थित गर्न पनि सरकारसँग माग गरेका छन् ।

उनले आफ्नो सरकारले यी विषयलाई प्राथमिकता दिने पनि जनाएका छन् । व्यभिचारी, अपराधी र खराव मानसिकताले गर्दा सरकार असफल भएको उनको भनाई छ । ‘ईश्वर भगवान साक्षात छन्, हामीले जे गलत गरेपनि माथिबाट हेरिरहेका हुन्छन् त्यसबाट हामीलाई कुनै दिन जस्तो पनि हानी हुन सक्छ’ उनले भने ‘ मनमा भय नभएकाले समाज पनि गलत बाटोमा लागेको छ, यसलाई परिवर्तन गर्ने हामीसँग भिजन छ ।’ १२ कक्षा पास गरेका सबै नागरिकलाई आफ्नो सुरक्षा गर्न सक्ने गरी सैन्य तालिम दिनुपर्ने पार्टीले विचार अघि सारेको छ ।

नेपालमा जलविद्युत, पर्यटन, जडिबुटीसहित अन्य धेरैको प्रचुर सम्भावना भएकाले त्यसको व्यवस्थापन गरेर प्रशस्तै आम्दानी गर्ने दिशामा सरकार र सरोकारवाला निकाय गम्भीर नभएको उनको आरोप छ । उनले हामीसँग भएका सीमित स्रोत र साधनलाई उपयोग गर्न तत्पर रहनुपर्ने धारणा राखेका छन् । कोरोना भाइरसका कारण भएको लकडाउनमा सरकारले आफ्नो दायित्व पूरा गर्न नसकेको उनले ठोकुवा गरेका छन् । लकडाउनमा सबै नागरिकलाई पुग्ने दाल, चामल, तेल र अन्य अत्यावश्यक सामग्रीसहित कम्तिमा परिवारलाई मासिक ५ हजार रुपैंया उपलव्ध गराउन सकेको भए सरकारको पक्षमा जनलहर बढ्ने थियो भन्दै उनले आगामी दिनमा यो बाटोतिर लाग्न सुझाव दिएका छन् ।
पार्टीले अहिले संगठन विस्तारमा ध्यान केन्द्रित गरेको छ ।

विदेशमा पनि सम्पर्क गर्दै संगठन विस्तारमा क्रियाशिल पार्टीले आगामी दिनमा आफ्नो ‘भिजन’ ले देशलाई सही ट्रयाकमा लाने दावी गरेका छन् । उनी सबै पार्टी परीक्षण भइसकेकाले अब आफूहरुलाई जिम्मेवारी दिए नेपालको विकास र विस्तारमा परिवर्तन गरिदिने बताउँछन् । आफ्ना विचारलाई देशव्यापी रुपमा लैजाने योजनामा रहेको भन्दै अध्यक्ष गिरीले अरु पार्टीहरु विदेशीको ईशारामा चल्ने भएकाले नेपाल र नेपालीको हकहितमा समय दिन नसकेको पनि आरोप लगाएका छन् ।