काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प खोल्नको लागि परेको सबै निवेदन खारेज गरेको छ ।


ADVERTISEMENT


निगमले नयाँ पेट्रोल पम्प सञ्चालनको लागि गत बैशाख र भदौमा निवेदन खुला गरेकोमा सबै निवेदन खारेज गरेको हो ।


ADVERTISEMENT

# # #


नयाँ पेट्रोल पम्प सञ्चालन गर्न १ हजार २५ निवेदन परेकोमा निगमको संचालक समितिको बैठकले सबै निवेदन खारेज गरिदिएको हो । अब निगमले थप पेट्रोल पम्प खोल्ने प्रक्रियालाई समय सापेक्ष र ब्यबस्थित बनाउने जनाएको छ ।

गत आर्थिक वर्षमा ६५ अर्ब ९३ करोड रुपैयाँ कर बुझाएको यो संस्थानले चालू आर्थिक वर्षमासमेत गत वर्षकै हाराहारीमा कर बुझाउने लक्ष्य लिएको छ । आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा कूल कर ६५ अर्बकैै हाराहारीमा रहने अनुमान गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउँछन् ।

पौडेलका अनुसार चालू आर्थिक वर्षमा निगमले पेट्रोलियम पदार्थमा ५ पटक मूल्य घटाएको छ भने ५ पटक बढाएको छ । तर विश्व बजारको मूल्य गिरावटलाई भने सरकारले बढाएको करमा नै तुलना गर्न उनले आग्रह गरेका छन् ।

यही बीचमा गत वर्ष ८ अर्ब ७५ करोड नाफा कमाएकोमा यो वर्ष १० अर्ब ८६ करोड नाफा पुगेको जानकारी निगमले दिएको छ । यो नाफा बढ्नुको पनि आफ्नै कारण रहेको पौडेलले दाबी गरे ।

पौडेलका अनुसार उपभोक्तासँग सिधै जोडिन निगमले अब आफैँ वितरणको कार्यसमेत गर्ने तयारी गरेको छ । आफ्नै ग्यास प्लान्ट राख्नेदेखि पेट्रोलपम्प सञ्चालको अवधारणा समेत अघि बढाइसकेको छ ।

अब पेट्रोल पम्पको आवश्यकताको अध्ययन गरी पम्प खोल्न चाहनेबाट ब्यबसायी योजना समेत लिइने निगमका कार्यकारी निर्देशक पौडेलले बताएका छन ।