काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जसमध्ये २ जना नेपाली र एक जना भारतीय पुरुष  रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १० बस्ने ६५ वर्षीय एक भारतीय पुरुष कोरोनाबाट मृत्यु भएको छ । उनको  साउन ११ गते (हिजो) बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । उनी मुटु तथा मधुमेहका रोगी थिए ।


ADVERTISEMENT

# # #


यस्तै अर्का मृतक धनुषाको सहिदनगर नगरपालिका वडा नं. ८ डुमरिया निवासी ३६ वर्षीय पुरुष रहेका छन् । उनको पनि साउन ११ गते (हिजो) कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौंतमले जनाए । उनका अनुसार ती मृतक ज्वरो, खोकी र श्वास प्रश्वासमा कठिनाई भएपछि गत साउन १० गते प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सीमा आएका थिए । आइसीयूमा भर्ना गरिएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै बाराको फेटा गाउँपालिका वडा नं. ३ निवासी ६० वर्षीय पुरुषको पनि कोरोनाबाट ज्यान गएको छ । उनको आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मस्तिष्कघात तथा मिर्गौलासम्बन्धि रोगबाट ग्रसित थिए ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १८ हजार ७५२ रहेको छ । आज मात्रै १३९ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १३ हजार ७५४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ६२६ जना उपचार पछि निको भएका छन् ।