– डा. प्रदीप ज्ञवाली (सदस्य सचिव, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्)


ADVERTISEMENT


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना भाइरस (कोभिड–१९)सँग सम्बन्धित विभिन्न अनुसन्धान गर्ने क्रममा अहिले यहाँहरुले पनि सुन्नु भएको छ–कन्भालेसेन्ट प्लाज्मा थेरापी । त्रिवि शिक्षण अस्पतालमा यही विधिको प्रयोग गरेर एकजना कोरोना संक्रमितको उपचार भएको समाचार पनि तपाईहरुले सुन्नु भएको छ ।


ADVERTISEMENT

# # #


यो अध्ययन कस्तो खालको हो ? यो कसरी गरिन्छ र कहाँ कहाँ भएको छ भन्ने बारेमा एउटा जानकारी गराउन चाहन्छु । कन्भालेसेन्ट प्लाज्मा थेरापी एक किसिमको सम्भाव्य अवलोकन क्लिनिकल अध्ययन हो, यसलाई ‘प्रस्पेक्टिभ्स अब्जरभेसन क्लिनिकल स्टडिज’ पनि भन्ने गरिन्छ । नोवेल कोरोना भाइरस भएको एन्टीवडीको कन्भालेसेन्ट प्लाज्मा कोभिड–१९ को गम्भीर बिरामीको उपचारका लागि हाल नेपालमा एक अविलम्ब विकल्पका रुपमा रहेको छ ।

‘यूरोपियन कमिसन फर हेल्थ एन्ड फूड सेफ्टी’ र ‘यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेसन’ (यूएसएफडीए)ले संयुक्त रुपमा कोभिड–१९ संक्रमितको उपचारका लागि एक तत्कालीन प्राथमिकतामा राख्नुपर्ने जोड दिएको छ । यो पद्धती कम जोखिमयुक्त साथै यस पद्धतीको प्रभावकारिता र सुरक्षाको मापन पनि गर्न सकिन्छ । यो अनुसन्धान प्रक्रियालाई अगाडी बढाउनका लागि गत जेठ ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय भएको थियो । सोही अनुसार हामीले अध्ययन गरेका छौँ ।

यस अनुसन्धानमा संलग्न प्रत्येक अस्पतालहरुबाट १–१ जना (मुख्य चिकित्सक, लिड फिजिसियन र कोर्डिनेटर चिकित्सक) हामीले तोकेका छौँ । जसका लागि अस्पतालले निम्न कुराहरु दाता (प्लाज्मा दान गर्ने व्यक्ति) लाई जानकारी गराउनु पर्ने हुन्छ ।

१. उमेर, लिंग ।
२. अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको मिति ।
३. महिलाको हकमा गर्भवती भए/नभएको अवस्था ।
४. रगतको समूह ।
५. सम्पर्क नम्बर र ठेगाना ।

प्लाज्मा थेरापी सम्बन्धी अध्ययनको लागि ९ वटा सरकारी र ३ वटा निजी अस्पतालहरु संलग्न रहेका छन् । जसमा प्राइभेट अस्पतालतर्फ मेडिसिटी अस्पताल, ग्रान्डि इन्टरनेसनल अस्पताल र ह्याम्स अस्पताल रहेका छन् । यस्तै सरकारीतर्फ धुलिखेल अस्पताल काभ्रे, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य एकेडेमी अफ हेल्थ साइन्स ललितपुर, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भक्तपुर अस्पताल, भेरि अस्पताल नेपालगञ्ज र सेती अस्पतालहेका छन् ।  बिरामी र दाताहरुको स्वीकृतिमा यो योजना अघि बढ्नेछ । माग र बिरामीको चाप अनुसार यी अस्पतालहरु भने परिवर्तन भइरहने छन् ।

प्लाज्मा थेरापीका लागि रगत दिने दातामा निम्नकुराहरु हुनुपर्नेछ ।

१. रियल टाइम पीसीआर विधिबाट कोभिड–१९ पुष्टि भएको निश्चित हुनुपर्ने ।
२. रक्तदान गनुपूर्व कम्तीमा १४ दिन अगाडि कोभिड–१९ लक्षण देखा नपरेको ।
३. रत्तःदान गर्ने व्यक्तिले रक्तदान गर्दा नेपार रेडक्रस सोसाईटीले तोकेको मापदण्ड पूरा गर्नुपर्ने ।

यस्तै कन्भालेसेन्ट प्लाज्मा प्राप्त गर्ने व्यक्तिमा हुनुपर्ने मापदण्ड यस्ता छन् ।

१. १८ वर्ष पूरा भएको । (हामीले बच्चामा भन्दा पनि वयस्कमा यो प्रयोग गर्नेछौँ ।)
२. रियल टाइम पीसीआर विधिबाट कोभिड–१९ पुष्टि भएको निश्चित हुनुपर्ने ।
३. अस्पतालमा भर्ना भइ उपचार गराइरहेको हुनुपर्ने र बिरामीको अवस्था गम्भीर भएको हुनुपर्ने वा ज्यान जोखिममा रहेको हुनुपर्ने वा चिकित्सकले बिरामी गम्भीर अवस्थामा जानसक्ने पुष्टि गरेको हुनुपर्ने ।

यसका लागि मापन गर्ने सूचकांकहरु यस्ता छन् ।

१. अस्पताल र सघन उपचार कक्ष (आईसीयू)मा बसेको समयावधि ।
२. अस्पतालको समयावधिमा देखापरेका प्रतिकूल घटनाहरु ।
३. बिरामीको लक्षणमा देखिएका सुधारहरु साथै जस्वित रहने अवधिको मापन ।

हालसम्म यस पद्धतीको लागि २५ जना दाताहरुबाट हामी दिन्छौँ भन्ने प्रतिवद्धता आइसकेको छ । गम्भीर बिरामीले माग गरेको अवस्थामा उहाँहरुलाई दिनका लागि हामी आग्रह गर्नेछौँ र ‘ब्लड ग्रुप’ पनि मिलेको हुनुपर्नेछ । अनुसन्धानमा संलग्न अस्पतालहरुले वा अनुसन्धानमा संलग्न चिकित्सकले यससम्बन्धी जानकारीहरु गोप्य राख्नुपर्नेछ । यसको नतिजा हेरेर पछि जानकारी दिइनेछ ।

कन्भालेसेन्ट प्लाज्मा थेरापीका लागि निको भएर जाने संक्रमितहरुले रगत दान गरेर अमूल्य सहयोग गर्नुहुनेछ र गम्भीर संक्रमितलाई जीवन दान गर्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ ।

(सदस्यसचिव डा. ज्ञवालीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा राखेको धारणामा आधारित)