– राजेन्द्र प्रसाद फुयाल


ADVERTISEMENT


सल्लाह एक उपदेश हो । सल्लाह एक परामर्श हो । सल्लाह एक उच्चतम् दिशानिर्देश हो । यो अनुभवको निखारमा, तथ्यको सार तथा शोध–विश्लेशषको आधारमा दिइने महत्वपूर्ण विचार–विमर्श नै सल्लाह हो । सल्लाह प्रायगरी हित चाहने हितैषीबाट लिने गरिन्छ । नेपाली संस्कृतिमा त शत्रुले नै सल्लाह मागे पनि मैले जाने बुझेको सुझबुझको आधारमा यो हो भनेर सम्भव भएसम्म उचित सल्लाह दिन सक्नु पर्छ ।


ADVERTISEMENT

# # #


जो कोहीले हितैषी त्यसलाई मान्न सक्नु पर्छ जसले अगाडिको मान्छेले के मन पराउँछ वा चाहन्छ भन्दा पनि तथ्यगत के हो भन्ने प्रयासमा अभिव्यक्ति तथा सल्लाह दिएको हुन्छ । परिणामको सम्बन्धमा सचेत गराउँछ । तर बिडम्वना आज मुफतका सल्लाहकारको बिगबिगी नै देखिन्छ । यो थाहा भइ–भइ कि संसारमा सबैभन्दा बढी दिइने भनेको विचार र सल्लाह हो र सबैभन्दा कम लिने पनि ।

प्रसङ्गवस महाभारतको कथा जोड्न सकिन्छ । धृतराष्ट्र अन्धो तर महत्वाकांक्षी थिए । उनका वरिपरि अनुभवी, विद्वान् , दूरदर्शी, देशभक्त, कर्म र वचनका प्रेमी मात्र होइन प्रतिवद्ध महान् व्यक्तित्वहरु प्रशस्त थिए तर धृतराष्ट्रले शकुनीलाई हितैषी ठाने । तर शकुनी भने आफ्नो बहिनी गान्धारीको ममता, भिष्मपितामहसँगको प्रतिशोधका लागि आफ्नो सम्पूर्ण राजकाज छोडेर हस्तीनापुर मै बसोबास गरिका थिए । कुटिलताको खानी शकुनीलाई नै धृतराष्ट्रले प्रमुख सल्लाहाकार प्रत्यक्ष–अप्रत्यक्ष रुपमा स्वीकारेका थिए । किनभने शकुनीले नै उसको अन्तर्मनमा रहेको अन्यायी महत्वाकांक्षाको कुरा गर्थ्यो ।

शकुनिलाई आफ्नो प्रतिशोध कसरी पूरा गर्न सकिन्छ भन्ने सवालमा धृतराष्ट्रको कमजोरी राम्रोसँग थाहा थियो । अर्कोतर्फ बच्चामा नै बाबु गुमाएका टुहुरा पाण्डु पुत्र थिए । राज्यको उत्तराधिकारी भएर पनि सधैँभरि विचराजस्ता भएर बस्नुपरेको थियो । तर, कालान्तरमा सफल राजनैतिज्ञ, पूर्ण कलावान् तथा पूर्ण पुरुष भगवान कृष्णलाई आफ्नो पूर्ण सल्लाहकार बनाए । परिणाम ऐतिहासिक महाभारत पुराण साक्षी छ ।

शकुनि र कृष्णमा के फरक थियो ?
१) शकुनि इर्ष्यालु थिए भने भगवान कृष्ण दयालु हुनुहुन्थ्यो ।
२) शकुनि गलत इरादाबाट उत्प्रेरित थिए भने भगवान कृष्ण निष्पक्ष, कर्मशील र लोक–
कल्याणबाट उत्प्रेरित हुनुहुन्थ्यो ।
३) शकुनि व्यक्ति हितायमा सिमित थिए भने भगवान कृष्ण सर्वहितायबाट ओतप्रोत हुनुहुन्थ्यो ।
४) शकुनि मित्रता भित्रको शत्रुतालाई हेर्थे भने भगवान कृष्ण शत्रुता भित्रको मित्रता हेर्नुहुन्थ्यो ।
आदि इत्यादि ।

जहाँसम्म बौद्विकता, राजनैतिक चतुरता, घटनाको विवेचनाका सम्बन्धमा अध्ययन गर्दा भनिन्छ दुबै बराबरी थिए । तर महाभारतको विनाश, जसमा स्वयम् शकुनि र उनका १०० भान्जाहरु समाप्त भए । आज विचरा नाम पनि वद्नाम भयो । कुनै मातापिताले आफ्नो छोराको नाम शकुनि राख्न सक्दैन ।

रामायणमा राम र रावणको कुरा गर्ने हो भने रावणका १० वटा शिर (टाउको) थिए भनिन्छ । वास्तवमा यो प्रतीक मात्र हो । आजसम्म त्यस्तो मानिस जन्मेको छैन । तर, रावण यति बुद्धिमान, तार्किक र शक्तिशाली थिए कि संसार उनको सामुन्य नतमस्तक हुन्थ्यो । १० क्षेत्रका विज्ञ बराबर उनी एक्लै थिए, जसलाई १० टाउकाको प्रतीक मानियो । तर पराजित हुन पर्‍यो ।

चाणक्यले राजाको रखेल्नीको छोरो जो गरिब र दिनहीन अनपढ बच्चा थिए । त्यो बच्चालाई राजा मात्र बनाएनन् राज्यलाई विदेशी आक्रमणबाट समेत बचाए । यद्धपि विश्व विजेता अलेकजेन्डर द ग्रेटको समेत सामना गर्नुपरेको थियो । संक्षेपमा भन्नुपर्दा महत्वाकांक्षा बनाउनु पुर्व यो जीवनदायी छ छैन, सर्वहिताय हो होइन ? सचेत हुनु पर्दछ । शक्ति र बल भनेको वर्तुल आकारमा घुमिरहन्छ । अन्यथा “जैसा करनी वैसा भरनी” भने जस्तो हुन्छ । सल्लाह लिनेले दिनेको मनस्थिति बुझ्न आवश्यक हुन्छ । जस्तो, सल्लाह दिनेको इरादा, क्षमता र उसको भावानात्मक बुद्धिमत्ता कस्तो छ ? तथ्यपरक अनुभव र शोधपूर्ण हो, होइन ? निष्पक्ष, निडर, कर्तव्यपरायण भएर विवेकपूर्ण निर्णय लिन सक्नु पर्दछ । यदि धृतराष्ट्रले उसकै श्रीमती गान्धारीको आधा मात्र सल्लाह स्वीकारेको भए महाभारतको विनाश हुने थिएन । यदि हरेक मनुष्यले जीवनको अन्तिम सत्यलाई हृदयङ्गम गर्दै उचित निर्णय र त्यसको कार्यान्वयन गर्न सकेमा कम्तीमा मानिस मनोसामाजिक, मनोवैज्ञानिक तथा मानसिक बिचलनबाट बच्न सक्दछ ।

पार्थ नैवेह नामुत्र विनाशस्तश्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद्दुर्गतिं तात गच्छति ।।४०।। श्रीमद् भगवद्गीता, अध्याय ६

अर्थात, हे पार्थ (पृथापुत्र) ! कल्याण कार्यमा लागिरहने योगीको(कर्मशील, कर्मप्रेमी) विनाश यो लोकमा पनि हुँदैन र परलोकमा पनि हुँदैन । हे मित्र ! असल काम गर्नेलाई खराब तत्वबाट कहिल्यै पराजित हुनु पर्दैन । यही भावलाई श्रीमद्भागवत पुराण (१.५.१७) मा श्री नारदमुनिले व्यासदेवलाई उपदेश दिनु भएको छ ।

जीवन दर्शनको सार्थकताः
मनुष्य जीवन एक पवित्र यज्ञ हो,
यसका लागि (सत्यकालागि) स्वयम्को आहुति दिने तयारी गर ।
मनुष्य जीवन एक अमुल्य अवसर हो,
तर तिनीहरुका लागि मात्र, जसले साहस, संकल्प तथा श्रम गर्दछन् ।
मनुष्य जीवन एक वरदान सहितको चुनौति हो,
तर उनीहरुका लागि, जसले स्वीकार्दछ ।
मनुष्य जीवन एक महान संघर्ष हो,
तर उनीहरुको लागि जसले शक्तिलाई एकिकृत गर्दछ र विजयको लागि जुद्दछ ।
मनुष्य जीवन एक भव्य जागरण हो,
तर उनीहरुकै लागि, स्वयमलाई निद्रा तथा मुर्छा बाट मुक्त गर्न सक्दछ ।
मनुष्य जीवन एक दिव्य गीत हो,
तर उनीहरुकै लागि, जसले स्वयम्लाई परमात्मको बाद्यवाधन बनाएको छ ।

अन्यथा जीवन एक लामो र मन्द मृत्युको अतिरिक्त केही पनि होइन,
जीवन त त्यही हुन्छ जुन हामी जीवनसित गर्दछौं ।
जीवन मिल्ने होइन, जीवन त जिउन हो ।
जीवन स्वयम् द्वारा स्वयम्को दीर्घकाल सृजना हो,
यो कुनै नियति होइन, निर्माण हो ।
जीवनको सम्पूर्ण नकरात्मक र सकरात्मक पक्षको निर्माण स्वयम्ले गरेको हुन्छ,
यदि जीवन अर्ध जीवित छ भने स्वयम्ले बचाउने जिम्मा हुन्छ ।

बुझ्नुपर्ने कुरा, जीवनले सुतिरहेको अनुभव गरेको छ भने,
जान्न पर्‍यो हामीले नै केहि गर्‍यो, जसले ऊ सुतिरहेको छ ।
जीवनमा दुःखको प्रतीक हुन्छ भने, जान्न पर्‍यो,
हामी स्वयम्ले नै केही गर्‍यो जसले दुःख प्रतीक भयो
त्यसैले, जीवन भनेको हाम्रो प्रतिध्वनि हो, हाम्रै प्रतिफलन हो ।

निचोडमा जिसस क्राइस्टको भनाईबाट यस लेखको विट मार्न चाहान्छु ।
“तिमी अरुलाई यस प्रकारको व्यवहार गर जुन अरुबाट तिमिले अपेक्षा राख्दछौ ।”

लेखक सृजना ज्ञानसागर मा. वि. तारकेश्वर –४, गोलढुङ्गा, काठमाण्डौका प्रधानाध्यापक हुन् ।