काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा पर्सा र मोरङकाका १-१ जना पुरुष र काठमाडौँकी १ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते दिउँसो गण्डक कोभिड अस्थायी अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह र दमका बिरामी थिए ।


ADVERTISEMENT

# # #


यस्तै मोरङको विराटनगर महानगरपालिका वडा नं.९ बस्ने ५८ वर्षीय एक पुरुषको साउन २३ गते बिहान कोशी अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचापका उनी निमोनिया, ज्वरो तथा श्वास प्रश्वासमा समस्या आएपछि केही दिनदेखि सप्तकोशी अस्पतालमा उपचाररत थिए । अवस्था बिग्रिएपछि उनलाई कोशी अस्पतालमा रिफर गरिएको थियो ।

यस्तै काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ४१ वर्षीय महिलाको साउन २३ गते बिहान पाटन अस्पतालमा मृत्यु भएको छ ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २२ हजार ५९२ रहेको छ । आज मात्रै ३७८ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १६ हजार ३१३ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४९९ जना उपचार पछि निको भएका छन् ।