नेपालगन्ज — प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की केसीले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जनाएकी हुन् ।


ADVERTISEMENT


उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् । ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्छु,’ केसीले लेखेकी छन् ।


ADVERTISEMENT

# # #


भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।

उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ । रुघाखोकी लाग्न थालेपछि उनी कोरोनाको आशंकामा परीक्षण गराउन अस्पताल पुगेकी थिइन् ।

कोरोना रिपोर्ट पोजिटिभ आएपछि केसीको भेरी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।