काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षका लागि ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवं बजेटमा विमानस्थलको विकास र स्तरोन्नतिको कामलाई प्राथमिकतामा राखेको छ । प्राधिकरणले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट गत आर्थिक वर्षको तुलनामा ५ अर्ब ८५ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको थियो । यसवर्ष कोरोना भाइरसको महामारीका कारण विमानस्थल बन्द रहँदा आम्दानी घट्ने भएकाले बजेटको आकार पनि कम गरिएको प्राधिकरणले जनाएको छ ।
यस्तै, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने र अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड रुपैयाँ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयार गर्ने तथा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।