काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णुप्रसाद पौडेलको पीएसओमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । पीएसओलाई कोरोना पुष्टि भएपछि महासचिव पौडेल आइसोलेसनमा बसेका छन् । संक्रमित पीएसओलाई भने नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ । स्रोतका अनुसार, संक्रमण पुष्टि भएपनि पीएसओमा लक्षण भने छैन ।


ADVERTISEMENT


पीएसओमा संक्रमण पुष्टि भएपछि महासचिव पौडेलले आइतबारबाट सवै भेटवार्ता रोकेका छन् । केही दिन महासचिव पौडेल आइसोलेसनमा बस्ने भएका छन् । यसअगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत आइसोलेसनमा बसिसकेका छन् । २२ साउनदेखि प्रचण्ड आइसोलेसनमा बसेका हुन् ।


ADVERTISEMENT

# # #


 

२१ साउनमा गरिएको परीक्षणमा प्रचण्ड सहित सचिवालय र परिवारका सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको थियो । तर, निजी निवास खुमलटारको बाहिरी घेरामा बस्ने ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो । सुरक्षाकर्मीहरुमा संक्रमण देखिएपछि प्रचण्ड आइसोलेसनमा बसेका छन् । २३ साउनमा सम्पादकहरुसँग बस्नलाई तय गरिएको भेटवार्ता समेत प्रचण्ड आइसोलेसनमा बस्नुपर्ने भएकाले स्थगित गरिएको थियो ।

 

अध्यक्ष प्रचण्डमा मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा समेत आइसोलेसनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । प्रदेश–२ का आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री ओली सहित उनको सचिवालयले २३ साउनमै कोरोना परीक्षण गराएका थिए । सवैको रिपोर्ट नेगेटिभ आएको छ । तर, रिपोर्ट आएको केही दिनसम्म आइसोलेसनमा बस्नुपर्ने चिकित्सकको सल्लाह छ ।

 

२४ साउनमा गृहमन्त्री थापाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओली र गृहमन्त्री थापा साउन १४ गते आयोजित एक कार्यक्रममा सँगै थिए । त्यस दिन सामुहिक तस्वीर समेत लिएका मन्त्री यादवलाई साउन १९ गते संक्रमण पुष्टि भएको थियो । मन्त्री यादवलाई संक्रमण पुष्टि भएपछि सातै प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री ‘क्लोज कन्ट्याक्ट’मा परेका छन् ।

 

अर्कातर्फ आइसोलेसनमा बसेका महासचिव पौडेलले पार्टी विवाद हल गर्न भन्दै शीर्ष नेताहरुसँग लगातार भेटवार्ता गरिरहेका थिए । अर्थात्, संक्रमितसँग ‘क्लोज कन्ट्याक्ट’का कारण नेकपाका शीर्ष नेताहरु आइसोलेसनमा परेका छन् भने विभाजनकै नजिक पुगेको नेकपाको गतिविधि समेत शून्य बनेको छ । तर, आइतबार ६१ सांसदहरुले भने कुनै पनि गुटमा नलाग्ने भन्दै पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।