काठमाडौँ — साउन १३ गते काठमाडौंबाट फरार भएका ‘सुन तस्कर’ इल्ताफ हुसेन अन्सारी बाराबाट पक्राउ परेका छन् । सुनले लेपन गरेको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन  तथा दुई थान पेस्तोलसहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।

अन्सारीसँगै फरार रहेका भारतको गुजरातका सञ्जय पटेल भने अझै पक्राउ परेका छैनन् । १३ गते बिहान सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी, पटेल, निलेश सखियालगायतको गिरोहले भारत लैजान लागेको सुनचाँदी त्यहीँ छाडेर भागेका थिए । त्यसको भोलिपल्ट मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई पक्राउ परेका थिए । कौशलबाहेक तीन जना पूर्वी नवलपरासीको दुम्कीबासबाट पक्राउ परेका थिए ।


ADVERTISEMENT


त्यसपछि प्रहरीले फरार अन्य व्यक्तिको खोजी कार्य जारी राखेको थियो । सोही अभियोगमा प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ, बहादुरसिंह कठायत र सुन लुकाउन सघाउने बागबजारका मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठ पक्राउ परिसकेका छन् ।


ADVERTISEMENT

# # #


चाँदीमा सुनको लेपन लगाउने न्युरोडका कालिगढ मनिष मल्लिकलाई भने सोधपुछ गरेर छाडिएको थियो । सुनचाँदी तस्करीमा संलग्न हुनुअघि अन्सारी नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर कैद भुक्तानपछि छुटेका थिए ।