एजेन्सी –  च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले शर्मनाक हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो ।योसँगै जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


पोर्चुगलको लिस्बनस्थित स्टाडिओ डा लुजमा भएको खेलमा बायर्नलाई जित दिलाउन थोमस मुलर र फिलिप्पे काउटिन्होले दुई/दुई गोल गरे । त्यस्तै इभान पेरिसिक, सर्जे नाब्री, जोसुआ किमिच र रोबर्ट लेवान्डोवस्किले एक/एक गोल गरे । बार्सिलोनाका लागि लुइस सुआरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।


ADVERTISEMENT

# # #


खेलको चौथो मिनेटमा नै बायर्नले अग्रता लिएको थियो । रोबर्ट लेवन्डोवस्किको पासमा मुलरले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा आएको थियो ।

२८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफकाे खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।

दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो । ५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे।त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो ।

जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे ।बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

८५ औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए ।बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए ।

पछिल्लो हारसंगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । बायर्नसंगको लज्जास्पद हारले उनी तत्काल बर्खास्तीमा पर्ने अनुमान गरिएको छ । च्याम्पियन्स लिगबाट समेत बाहिरिएपछि यस सिजन बार्सिलोनाका लागि निकै खराब रह्यो । यस सिजनको बुन्डेसलिगा च्याम्यिन बायर्नले अब फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासंग खेल्नेछ ।