राजु विश्वकर्मा, लहान – कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका लहानस्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कमलबहादुर राजलवटलाई अहिले भने गुर्जोको बेर्ना लगाउन र कलमी बनाउन भ्याइनभ्याइ हुन्छ ।


ADVERTISEMENT


मिर्मिरे बिहानीमा होस वा झिसमिसे साँझको समयमा आफ्नो सरकारी निवासमा खाली जग्गामा गुर्जोको बेर्ना लगाउने र कलमी बनाउन अचेल उहाँ दैनिक व्यस्त छन् । कार्यालय समय सकिएपछि कर्मचारीलाई घर फर्किन हतारो हुन्छ, तर प्रमुख राजलवटलाई बेलुका कतिबेला निवास पुगेर बेर्ना लगाउने र कलमी बनाउने हतारो हुन्छ ।


ADVERTISEMENT

# # #


बिहान सबेरै उठेर गुर्जोको बेर्ना लगाउने र कार्यालयबाट बेलुका फर्किएपछि कमली बनाउने दैनिकी बनाएका प्रमुख राजलवटले तयार पारेको गुर्जोको कलमी र बेर्ना चिनजानका व्यक्तिदेखि सङ्घसंस्थालाई निःशुल्क तिवरण गर्दै आएका छन् ।

लहानस्थित गणेश चोकमा रहेको आन्तरिक राजस्व कार्यालयदेखि करिब ४०० मिटरको दूरीमा सरकारी निवासको खाली जग्गामा उहाँले लगाउनुभएको गुर्जोको बेर्ना लिन आउनेको दैनिक भीडसमेत लाग्ने गरेको छ । गुर्जोको लहरालाई टुक्राटुक्रा पारेर प्रमुख राजलवटले कलमी बनाएको देखेपछि स्थानीय अचम्ममा परेका थिए । “कार्यालयदेखि निवाससम्म आउँदा बाटो छेउमै लहरा र झाडी बुट्यान पर्छ”, प्रमुख राजलवटले भने, “त्यसमा गुर्जो लत्रिएको भए पनि पहिला गुर्जोको उपयोगिताबारे थाहा नभएर त्यसलाई स्थानीयवासीले खासै महत्व दिएका थिएन् ।” तर त्यही गुर्जोलाई काटेर टुक्रा पारेर कलमी बनाई त्यसको महत्वबारे बुझाएपछि धेरैजसो व्यक्ति यसलाई अहिले नियमित सेवन गर्न थालेको उहाँको भनाइ छ ।

अहिले आन्तरिक राजस्व कार्यालय लहानका अधिकांश कर्मचारीसँगै त्यहाँ धेरैजसो स्थानीयले दैनिक गुर्जोको सेवन गर्न थालेका छन् । “शुरुमा स्थानीयवासीलाई गुर्जो के हो, यसको फाइदा के हुन्छ थाहै थिएन्”, उनले भने, “तर अहिले सबै जनाले गुर्जोबारे थाहा पाइसक्नु भएको छ, दैनिकजसो बिहान बेलुका उहाँहरु गुर्जो सेवन गर्नुहुन्छ ।” कतिपयले गुर्जोको चिया बनाएर सेवन गर्नुहुन्छ भने कतिपयले गुर्जोलाई रातभरी पानी भिजाएर बिहान सेवन गर्ने गरेका छन्, त्यसैले यसबाट आफू उत्साहित भएको प्रमुख राजलवटको भनाइ छ ।

“गुर्जोको बेर्ना र कलमी बनाउने चाहना आफूलाई लहान आएदेखि नै थियो”, उनले भने, “कार्यालयमा कामको चापका कारण त्यसो गर्न सकेको थिएन, तर गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले गुर्जोको बेर्ना लगाउने र कलमी बनाउने अवसर जुराएको हो ।” करिब चार महिनाको बन्दाबन्दीकै समयमा गुर्जोको ३० हजार कलमी तयार पारेको उनको भनाइ छ ।

बन्दाबन्दीका बेला कार्यालयका अधिकांश कर्मचारी घर पुगे पनि प्रमुख राजलवट सरकारी निवासमै बसेर तयार पारेको ३० हजार गुर्जोको कलमीमध्ये बन्दाबन्दी खुकुल्लो भएसँगै हालसम्म १५ हजारभन्दा बढी कलमी काठमाडौँ पठाइसकेका छन् । “आफ्ना इष्टमित्र र आफ्न्त तथा चिनजान भएकालाई कलमी पठाइसके”, उनले भने, “गुर्जोको बहुउपयोगी बुझेकाबाट पनि दैनिकजसो गुर्जोको कलमी माग हुँदै आएको छ, भ्याएसम्म पठाइरहेको छु, गाडी नचलेर पठाउन कठिनाइ भइरहेको छ ।” अहिलेसम्म अर्थमन्त्रालयको विभिन्न विभाग तथा निकायमा पनि कमली पुर्‍याइसकेको र आफूले पठाएको गुर्जोको कलमी सिंहदरबार र अर्थमन्त्रालय तथा विभागको कुनाकुनामा छ्याप्छ्याप्ती हुर्किसकेको उनले बताए ।

असन्तुलित खानपान, जीवनशैलीलगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटु रोगीलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । “गुर्जोको बहुउपयोगिता भए पनि यसको कलमी उत्पादनमा खासै खर्च लाग्दैन”, प्रमुख राजलवटले भने, “यहाँका झाडी बट्यानमा प्रशस्त गुर्जोको लहरा पाइन्छ, त्यसलाई काटेर टुक्रा पारी बेर्ना बनाउँछु र त्यसलाई कलमीका रुपमा तयारी पार्ने गरेको छु ।” त्यही गुर्जोको कलमी माग्न आउनेलाई मागअनुसार क्यारेटसहित निःशुल्क दिइने गरेको उनका कथन छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जोको उपयोगिता अझै बढेको उनले बताए ।

कोभिड–१९ सङक्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । यसको प्रयोग बढ्न थालेपछि सिरहामा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले सांँझ बिहान दुई पटक खाने गरेका छन् । गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ ।

“कोरोना भाइरस सङ्क्रमणबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि हाम्रो टोलमा अधिकांशले गुर्जो खान थालेका छन्”, स्थानीयवासी राजकिसोर यादवले भने, “पहिले सजिलै पाइने गुर्जो यतिखेर पाउन गाह्रो भएको छ । यो लहरा जस्तै हुन्छ । गुर्जो जुनसुकै रुखमा लहराको रुपमा फैलिएको हुन्छ”, उनले भने, “यसको टुक्रा माटामा गाडिदिए सजिलै उम्रन सक्छ ।”

आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् । रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले धेरैले यसको सेवन गर्न थालेको बताइएको छ । रासस