काठमाडौँ – कपडा व्यापारीहरुले गत चैतमा गर्मीका लागि भनेर आयात गरेका कपडा अझैँ नाकामै रोकिएका छन् । कोरोना संक्रमणका र त्यसपछिको बाढी पहिरोका कारण उत्तरी नाका लामो समयदेखि बन्द हुँदा गर्मीका लागि आयात गरेका कपडाका कन्टेनर नाकामै रोकिएका हुन् ।


ADVERTISEMENT


नेपाल–चीन व्यापार गरिरहेका न्यूरोडका पूर्ण महर्जनले गर्मीका लागि आयात गरिएका ५०० कन्टेनर भन्दा बढी कपडा नाकामै रोकिएको बताए । उनी भन्छन्, ‘गर्मीको सिजन सकिसकेको छ, अझैँ ती कपडा कहिले आउने भन्ने पत्तो छैन ।’


ADVERTISEMENT

# # #


सरकारले नाका खुलाउन आवश्यक पहल नगर्दा कपडा नाकामा रोकिएको र करोडौँको लगानी जोखिममा परेको उनले बताए । गर्मीका लागि आयात गरिएका कपडा नै नाकामा रोकिएकोमा त्यसपछि व्यापारीले कपडा अर्डर नै नगरेको उनले बताए ।

दशैँ–तिहार जस्ता चाँड नजिकिदै गएपछि कपडाको सबैभन्दा बढी कारोवार हुने सिजनमै पनि कपडा आयात गर्ने कि नगर्ने भन्ने अन्यौल भएको व्यापारीहरु बताउँछन् । कोरोनाका कारण काठमाडौँ छाडेर बाहिरिनेको संख्या ठूलो भएको, काठमाडौँमै पनि कोरोनाका कारण माग नभएको र ६ महीना अघि आयात गरेका कपडा नै पनि नपुगिसकेकाले दशैँ–तिहारका कपडा आयात गर्ने नगर्नेबारे अन्यौल भएको न्यूरोडका व्यापारी रामचन्द्र पराजुली बताउँछन् ।

विगतको तथ्यांकलाई हेर्ने हो भने व्यापारीहरुले चीनबाट मात्रै दशैँ–तिहारमा करीब ४० अर्ब रकम बराबरको कपडा आयात गर्ने गर्छन् । यो अन्य समयको भन्दा ५० देखि ७० प्रतिशतसम्मले बढी भएको पराजुलीले बताए ।