भरतपुर – चितवनमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या बढेसँगै आइसियू शय्या र भेन्टिलेटर अभाव हुने चिन्ता शुरु भएको छ । कोरोनोका गम्भीर बिरामीलाई उपचारका लागि सहज बनाउने महत्वपूर्ण मानिएका ती दुई महत्वपूर्ण उपकरण थप्नेतर्फ सम्बन्धित निकायको ध्यान अहिलेसम्म नजाँदा उपचारमा समस्या आउने जनाइएको छ ।


ADVERTISEMENT


जिल्लामा सोमबारसम्म सङ्क्रमितको सङख्या ३६८ पुगेको छ भने कोरोना सङ्क्रमबाट हालसम्म तीन जनाको अकालमा मृत्यु भएको छ । जिल्ला र बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आउनेसमेत गरी दैनिक ४० भन्दा बढी सङ्क्रमित थपिने क्रम जारी रहेको छ । चिकित्सकीय सेवाको शहरका रुपमा परिचित जिल्लामा एक केन्द्रीय सरकारी अस्पताल, एक प्रादेशिक अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल र दुई दर्जन बढी साना ठूला अस्पताल छन् । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहे पनि तयारी भने फितलो छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा पर्याप्त आइसोलेशन नभएका कारण केही सङ्क्रमित होम आइसोलेसनमा बसेका छन् । सङ्क्रमित घरघरमै बस्न थालेपछि बल्ल पालिकाहरु धमाधम आइसोलेसन बनाउने तयारीमा जुटेका छन् ।


ADVERTISEMENT

# # #


जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत वैशाख महिनासम्मको तथ्याङ्कअनुसार जिल्लाका अस्पतालमा २४३५ शय्या छन् । तीमध्ये १७६ आइसियू र ४९ भेन्टिलेटर छन् । यो क्यान्सर अस्पतालबाहेकका अस्पतालको तथ्याङ्क भएको उनले बताए । भरतपुर अस्पतालमा ३० शय्याको आइसियू छ । यसमा १० कोभिड र २० ननकोभिडका लागि छुट्याइएको छ । अस्पतालमा रहेका छ भेन्टिलेटरमध्ये दुई वटा कोभिडका लागि प्रयोग गरिएको छ । “सामान्य अवस्थामा यो पर्याप्त हो”, अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भने, “तर कोभिडका बिरामी बढ्दै जाँदा आइसियू र भेन्टिलेटरको अभाव हुने देखिन्छ ।” यो अवधिमा कुनै पनि अस्पतालले आइसियू र भेन्टिलेटर थप नगरेको उनले जानकारी दिए । “सङ्क्रमितका जीवनरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरु तयारी अवस्थामा राख्नुपर्छ, त्यसका लागि प्रदेश र संघीय सरकारसँग कुरा गरेका छौं”, उनले भने । गम्भीर बिरामीको उपचारका लागि आइसीयू र भेन्टिलेटर आवश्यक पर्ने भएकाले लक्षण नभएका, सामान्य लक्षण भएका सङ्क्ररमित घरकै आइसोलेसनमा बस्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले अस्पतालमा रहेको भेन्टिलेटर र आइसियू पर्याप्त नभएको बताए । उनले भने, “क्यान्सर अस्पतालमा १५ श्य्याको आइसियू कक्ष छ, थप २० बढाउन सक्ने क्षमता हामीसँग छ ।” उनले आवश्यक परेको खण्डमा त्यसका लागि पनि तयार रहेको जानकारी दिए । “क्यान्सर अस्पतालमा अहिलेसम्म कोरोनाका सङ्क्रमितको उपचार गरेका छैनौं”, उनले भने “स्वाब परीक्षणका लागि ल्याब सञ्चालनको तयारीमा छौं ।” आवश्यक परेका खण्डमा भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित र क्यान्सर अस्पतालमा ननकोभिडको उपचार गर्न सकिने उनले बताए । “मान्छेको ज्यानभन्दा ठूलो कुरा केही होइन”, उनले भने, “यो समयमा सबै कुराका लागि तयार हुनुपर्छ ।”

जिल्लामा सबैभन्दा धेरै भेन्टिलेटर चितवन मेडिकल कलेज (सिएमसी) मा छन् । सैँतीस भेन्टिलेटर आफूहरुसँग रहेको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपाने जानकारी दिए । उनले भने, “थप ३० भेन्टिलेटर ल्याउने तयारीमा छौं ।” अस्पतालमा रहेका भेन्टिलेटर खाली नरहेको जनाउँदै उनले कोभिडका बिरामीलाई उपलब्ध गराउन नसकिने जानकारी दिए । जिल्लाको अर्को कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा ५० श्य्याको आइसियू कक्ष र १० भेन्टिलेटर छन् । यी दुवै मेडिकल कलेजले कोभिडका बिरामी राखेर उपचार गरेका छैनन् ।

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा भक्तमान श्रेष्ठले अस्पतालमा रहेका भेन्टिलेटर कोभिडका बिरामीका लागि प्रयोग गर्न सकिने अवस्था नरहेको जानकारी दिए । उनले भने, “अन्य नियमित बिरामीका लागि नै भेन्टिलेटर पर्याप्त छैन, कोभिडका लागि त झन् अभाव छ ।” अस्पतालका पाँच भेन्टिलेटरमध्ये तीन आइसियू र दुई वटा अप्रेशन थ्रियटरमा प्रयोग हुने गरेको उनले बताए । दुई श्य्या बराबर एक आइसियू हुनुपर्ने अन्तर्राष्ट्रिय प्रवधान रहेको उनले उल्लेख गरे । आइसियू खर्चिलो रहेका कारण पनि अस्पतालमा पर्याप्त राख्न नसकिएको उनको भनाइ छ । पछिल्लो दिनमा जिल्लामा सङ्क्रमित बढ्दै गएका छन् भने सङ्क्रमितमा लक्षण पनि देखिने गरेको छ । समुदायमा फैलिएको कोरोनाको प्रभाव वृद्ध, दीर्घरोगी, बालबालिका र सुत्केरीमा परेमा धेरै आईसियू र भेन्टिलेटरको आवश्यक पर्ने विज्ञ बताउँछन् । यसका लागि जिल्लामा तयारी पर्याप्त भएको उनीहरुको भनाइ छ । सम्भावित महामारीलाई लक्षित गरी समयमै आईसियू र भेन्टिलेटरको व्यवस्था गर्नेतर्फ सम्बन्धित निकायका ध्यान जानुपर्ने विज्ञ बताउँछन् ।