काठमाडौं – २०८१ चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबारे राष्ट्रिय मानव अधिकार आयोगको विज्ञ समितिले आयोजक तथा नेतृत्वमाथि अनुसन्धान र कारबाही गर्न सिफारिस गरेको छ ।
समितिले आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु भएको घटनालाई समेत गम्भीर र शंकास्पद मानेको छ । रजकले प्रयोग गरेको क्यामेराको कुनै अवशेष फेला नपरेको भन्दै घटनाको वैज्ञानिक अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्न प्रहरी प्रधान कार्यालय, सीआईबी र महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाउने निर्णय गरेको छ ।
समितिले प्रदर्शनपूर्व र प्रदर्शनका क्रममा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट उत्तेजक अभिव्यक्ति दिई भीड भड्काएको निष्कर्ष निकाल्दै दुर्गा प्रसाईंसहित आन्दोलनका आयोजक तथा संलग्न नेता–कार्यकर्तामाथि सूक्ष्म अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको छ । त्यस्तै, प्रदर्शनका क्रममा क्षति भएका निजी भवन, सवारीसाधन तथा व्यापारिक संरचनाको मूल्याङ्कन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको छ ।
पत्रकार तथा सञ्चारगृहमा भएको तोडफोड र आक्रमणमा संलग्नलाई समेत पहिचान गरी कारबाही गर्न समितिले सिफारिस गरेको छ ।
















