चण्डीराज ढकाल : पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभा गत साउन २६ र २७ गतेलाई तोकिएको थियो । तर, कोरोना भाइरसका कारण रोकिएको छ । कहिले पाउला त महासंघले नयाँ नेतृत्व ?


ADVERTISEMENT


महासंघको विधान अनुसार गत फागुनमा चैत्र २९ गते निर्वाचन गर्ने भनिसकेपछि दैनिक गतिविधिबाहेक महासंघ एक हिसाबले निर्वाचनको प्रक्रियामा थियो । महासंघको विधानमा कार्यसमितिको दुई तिहाई बहुमतले साधारणभा तीन महिनासम्म सार्न सकिने उल्लेख छ । त्यही कार्यसमितिबाट सर्वसम्मत पास भएको नियमावलीले निवार्चन दुई महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर, अहिले देश कोरोना भाइरसको सामना गरिरहेको छ । यही परिस्थितिले गर्दा निर्वाचन सरेको वा सारियो भन्ने हो भने महासंघ अनिर्णयको बन्दी भएको छ । यसले गर्दा भोलि महासंघका प्रक्रिया, महासंघका निर्णय, भोलिको कार्यसमितिको बारेमा पनि भोलि वैधानिकता र अवैधानिकताको प्रश्न उठ्न सक्छ ।


ADVERTISEMENT

# # #


हिजो हामीले केही प्रयास गरेको भए नयाँ कार्यसमिति र नयाँ नेतृत्व आएर कोरोनापछिको निजी क्षेत्रको अपेक्षालाई र अर्थतन्त्रको नीतिगत र कार्यगत गतिविधिलाई अगाडि बढाउनका लागि उत्तरदायी कार्यसमिति बनाउन सकिन्थ्यो ।

तर, एउटा ग्रुप कोरोना महामारीलाई देखाएर महासंघको निर्वाचन केही पर सार्नतिर लागेको देखिन्छ । महासंघले भर्खरै निर्वाचनको मोडालिटी तयार गर्नका लागि एउटा कार्यदल बनाएको थियो । सामाजिक दूरी कायम गरी साधारण सभा गर्ने र बाहिर रहेकालाई भिडियो मार्फत पनि बोल्न दिने भन्ने कुरा आएको छ । त्यसैअनुसार असोजको दोस्रो हप्ता वरिपरि निर्वाचन गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी प्रदान गर्नुपर्छ ।

महासंघकी वर्तमान अध्यक्ष भवानी राणाको कार्यशैलीमाथि तपाईहरुले बारम्बार प्रश्न उठाउँदै आउनु भएको छ । के हो खासमा ?

वास्तवमा अहिले नेतृत्वमा रहेको व्यक्ति र भोलि नेतृत्व गर्ने पक्का भइसकेको व्यक्तिले एउटा पक्ष र विपक्ष भनेर हिड्नु हुँदैनथ्यो । जुन टिमले अहिलेका अध्यक्षलाई त्यो नेतृत्वमा पुर्‍याउन हरेक किसिमका प्रयास गर्‍यो, त्यही टिमका विरुद्ध अहिले उहाँहरु लाग्नु भएको छ ।

आफूभित्रका कमी कमजोरी लुकाउनका लागि राणाले एक पछि अर्को गल्ती गरिरहनुभएको छ । उद्योग वाणिज्य महासंघको आवरणभित्र सबै कर्तुत ढाक्छु भन्ने प्रयास कसैले गर्नु हुँदैन । व्यक्तिगत आकांक्षाका लागि महासंघको पदको दुरुपयोग गर्नुहुँदैन ।

मान्छेले आफ्नो अतित नै बिर्सिने प्रयास गर्दा विभिन्न किसिमका घटना र दुर्घटना निम्तिने गर्छन् । मैँले यी कुरा भन्नुभन्दा सायद भवानी राणा आफैले जवाफ दिनु उपयुक्त होला । उहाँको यो एकपक्षगत रुपमा नहिंडेको भए आज महासंघभित्र यत्रो दूरी बढ्दैनथ्यो ।

हिजो शेखर गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाउनमा पनि मेरो ठूलो हात थियो । पशुपति मुरारकाले अहिले जे भने पनि हिजो मैँले नसमेटेको भए त्यो वस्तुस्थिति उहाँको लागि हुँदैनथ्यो । तिनै पूर्व अध्यक्षहरु हुन्, जसले विधान संशोधन गर्दा भवानी राणालाई असक्षम मात्रै होइन, लाञ्छना लगाएर, पत्रकार सम्मेलन गरेर, गालीगलौच गरेर साधारण सभामा उपस्थित पनि हुनु भएको थिएन ।

तर, उहाँहरु आज कुनै बैठकमा उपस्थित हुँदा ऐतिहासिक भयो भन्नुहुन्छ । असान्दर्भिक कुराहरुलाई सान्दर्भिक बनाउनु हुँदैन ।

महासंघको अहिलेको अवस्थाले दुर्घटनाको सम्भावना पनि निम्त्याएको भन्ने गरिन्छ । यसलाई कसरी निकास दिन सकिन्छ ?
महासंघ कमजोर भएको छ । महासंघलाई गति दिनुपर्छ भन्ने कुरा अहिले होइन, विगत केही वर्षदेखि उठ्दै आएको हो । तर, मेरो एउटै भनाई के हो भने महासंघमा जाने व्यक्ति व्यक्तिगत आकांक्षा र व्यक्तिगत नाफा–घाटाबाट मुक्त हुनुपर्छ । त्यसले समष्टिगत रुपमा निजी क्षेत्रको अवधारणालाई, घरेलू, साना मझौलादेखि लिएर ठूला उद्योगहरुका लागि औद्योगिक वातावरण बनाउनका लागि राज्यसँग लबिङ गर्ने, आवश्यक नीतिगत अवधारणाहरु ल्याउनका लागि, करका कुराहरुमा सरलीकरण गर्नका लागि, वित्तीय क्षेत्रलाई निजी क्षेत्रका सहयात्री बनाउनका लागि, श्रमिक र रोजगारदाताबीचको सुमधुर सम्बन्धलाई सुनिश्चित गर्नका आवश्यक भूमिका निर्वाह गर्नुपर्छ ।
महासंघको हिजोको जुन भिजन थियो, त्यसलाई मिचेर हामी क्षणिक नाफा र घाटाको राजनीतिमा वा क्षणिक व्यक्तिगत वा गुटगट पक्ष विपक्षका कुराहरुलाई लिएर अघि बढ्ने प्रयास गर्‍यौँ भने घातक हुन्छ । नेतृत्वको अवैधानिक कदमले महासंघमा दुर्घटना निम्तिन थाल्यो भने राज्यले हस्तक्षेप गर्नुपर्ने वा निजी क्षेत्रकै साथीहरुले कमिटि बनाएर कदम चाल्नुपर्ने हुन्छ ।
त्यसकारण निजी क्षेत्रलाई औद्योगिक र व्यवसायिक वातवरण सिर्जना गर्नका लागि र कोरोना भाइरसका कारण प्रभावित निजी क्षेत्रको उत्थानका लागि एउटा निचोडपूर्ण कार्यसमितिको जरुरत छ ।

अहिले रुग्ण उद्योगहरुलाई पनि अब पुन : सञ्चालन गरिनुपर्छ भन्ने आवाज उठेका छन् । त्यसका लागि राज्यले कसरी अघि बढ्नुपर्छ ? यसमा महासंघको भूमिका के हुनुपर्छ ?

हामीले नेपाल उद्योग वाणिज्य महासंघ राज्यपछि दोस्रो ठूलो सञ्जाल भएको संगठन भनेर परिभाषित गरेका छौँ । निजी क्षेत्रले हिजोको परिवर्तनमा आफूलाई जिम्मेवारपूर्ण ढंगले होमेको अवस्था हो । हिजोको १० वर्षे जनयुद्ध, राजनीतिक अस्थिरता, तराई आन्दोलन, नाकाबन्दी, महाभूकम्प, ३० वर्षसम्म स्थानीय सरकार नभएको जस्ता कठिन अवस्थामा पनि नेपाल उद्योग वाणिज्य महासंघले मात्र नभई यसका जिल्लागत संगठनले पनि आफ्ना साधारणसभाहरु एकदुईवटा बाहेक नियमित गरेका थिए । राज्यका जति पनि आर्थिक क्षेत्रका कमिटीहरु थिए, त्यसमा उद्योग वाणिज्य महासंघको सक्रिय उपस्थिति रह्यो । आज तपाई हेर्नुहुन्छ भने विधि मिचेर मनपरि गर्ने काम भएको छ । जहाँसम्म रुग्ण उद्योगहरु खोल्ने कुरा छ, त्यसमा नेतृत्वले राज्यसँग आवश्यक पहल गर्नुपर्छ । त्यही अनुसारको कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?   

वैधानिक प्रक्रियाभन्दा बाहिर गइरहेको गतिविधिलाई हामी आफैले स्वागत गरिरहेका छौँ । त्यो गर्नु भनेको महासंघलाई कमजोर बनाउनु हो । अब महासंघ धेरै कमजोर भएर बस्ने अवस्था छैन । आउने नेतृत्वले यसलाई सशक्त ढंगले उठाउनुपर्छ । अब महासंघलाई साँच्चिकै निजी क्षेत्रको, संगठनको केन्द्रीय संघका रुपमा स्थापित गराउनु पर्छ । नत्र भने भोलि महासंघमा कुनैपनि अप्रिय घटनाहरु घट्न सक्छन् ।

जिल्लाहरुले अहिले आफ्नै हक र अस्तित्व खोजिरहेको अवस्था छ । अन्य केही संगठन पनि हाम्रा कुराको सुनुवाई भएन भनेर आफ्नो अस्तित्व छुट्टै खोज्दैछन् । यी तमाम चुनौतिहरु आगामी नेतृत्वका अघि छन् । यसलाई शक्तिका रुपमा बदल्न अब आउने जिम्मेवार नेतृत्वको क्षमता, दक्षता र अरुलाई समेट्न सक्ने खुबीमा भर पर्छ । महासंघ निजी क्षेत्रको साँच्चिकै प्रतिनिधिमूलक संस्था हो भन्ने कुरा देखाउने बेला आएको छ ।