एजेन्सी – जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकांक्षा देखाएका छन् । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा अहिले प्रधानमन्त्री पद खाली रहेको छ ।


ADVERTISEMENT


आकांक्षी सुगा सरकारको प्रमुख प्रवक्ता समेत हुन् । उनलाई पार्टीकै कतिपय बरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्न उपयुक्त पात्रको रुपमा अगाडि सारेका छन् । उनीहरुले कोरोनाभाइरसले सृजना गरेको महामारीको सामना गर्ने, सवैसँग समन्वय र सहकार्य गर्नेलगायतका सरकार संचालनका लागि आवश्यक क्षमता उनीसँग भएको दावी पनि गरेका छन् ।


ADVERTISEMENT

# # #


सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)का वरिष्ठ सांसदहरुले नयाँ प्रधानमन्त्री चयनका लागि आउदो सेप्टेम्बर १५ तारिखको वरीपरी निर्वाचन हुनसक्ने बताएका छन् । प्रधानमन्त्री छनोटको निर्वाचनमा एलडीपीकै नेताद्वय पूर्व परराष्ट्र मन्त्री फुमिओ किशिदा र पूर्व रक्षा मन्त्री शिगेरु आइशीबा पनि सहभागी हुने संकेत गरेको जनाइएको छ ।

मुख्य सचिव सुगाले सन् २०१२ देखि नै तत्कालिन प्रधानमन्त्री आवे शक्तिमा आएसँगै सरकारको मुख्य प्रवक्ताको रुपमा काम गर्दै आएका छन् । उनलाई आवेको अति विश्वासपात्र भएकाले र क्षमतावान् पनि भएकाले प्रधानमन्त्री हुने सवैभन्दा बढी सम्भावना भएको उम्मेदवारको रुपमा हेरिएको छ । आवेको चाहना र समर्थन पनि उनलाई नै हुनसक्ने धेरैले अनुमान गरेका छन् ।

निर्वतमान प्रधानमन्त्री आवेले आफू अस्वस्थ्य हुँदा हुँदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताएका थिए । आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाइ छ । उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा दिएका हुन् ।

सन् २०१२ देखि लगातार शक्तिमा रहेका आवे यस अघि नै जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएको नेताका रूपमा इतिहास रच्न सफल बनेका छन् । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर पछि स्वास्थ्यमा सुधार भएपछि फेरि निर्वाचित भएका थिए ।

पछिल्लो दुई हप्तामा उनी दुई पटक अस्पताल गएका थिए । उनी अर्को महिनादेखि ६६ बर्ष लाग्दैछन् । उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन् झन् बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।