काठमाडौँ – सरकारले आज (बुधवार)देखि श्रमस्वीकृति दिन खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ श्रमस्वीकृति खुला गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि वैदेशिक रोजगार विभाग मातहतको श्रम कार्यालय ताहाचलले आजदेखि श्रमस्वीकृति दिन शुरु गरेको हो ।


ADVERTISEMENT


नयाँ श्रमस्वीकृति श्रम कार्यालय ताहाचलबाट मात्रै दिइनेछ । कोरोना महामारीका कारण गएको फागुन अन्तिमदेखि श्रमस्वीकृति दिन बन्द गरिएको थियो ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद्को निर्णयअनुसार श्रमस्वीकृति खुला गरिएकोमा श्रमस्वीकृति लिन भौतिक रूपमै काठमाडौं स्थित ताहाचल कार्यालयमा उपस्थित हुनुपर्छ। कोरोनाका कारण यतिवेला नेपालका अधिकांश स्थानमा बन्दाबन्दी भएकाले काठमाडौँ आउनै कठीन छ । श्रम स्वीकृति लिनका लागि ताहाचाल कार्यालयसम्म पुग्न नागरिकलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सरकारले कुनै तयारी गरेको छैन ।

सरकारको निर्णयपछि रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले श्रमिकहरुको माग रहेको मुलुकसँग सम्झौता गरेर श्रमस्वीकृति दिन शुरु गरिएको बताए । श्रम कार्यालयकाअनुसार अब श्रमस्वीकृति लिएर कोरोनासम्बन्धी मापदण्ड पूरा गरेर नेपालीहरू रोजगारका लागि विदेश जान पाउनेछन् ।

दुबई, कतार, बहराइन, ओमन, रोमानियाले, दक्षिण कोरिया लगायतका मुलुकका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जान सक्नेछन् ।

विदेशबाट बिदामा नेपाल फर्किएकाहरुका लागि भने भने सरकारले यसअघि नै असार १८ गतेदेखि श्रमस्वीकृति खुला गरिसकेको छ ।