सप्तरी – जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना पक्राउ परेका छन् । मंगलवार वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण साफीले बताए । उनीहरुको साथबाट २.०८ घनफिट तीन थान सालको काठ बरामद गरिएको जानकारी उनले दिए ।


ADVERTISEMENT


पक्राउ परेकाहरुलाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको शम्भुनाथ शाखाका अधिकृत रामआशिष यादवले बताए । काठ ओसारिरहेकामध्ये एक जना भागेका छन् । साफीकाअनुसार दुवै जनाको आज पिसीआर परीक्षण गरेर थप अनुसन्धान अगाडि बढाइनेछ ।


ADVERTISEMENT

# # #


बन्दाबन्दीको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको जनाएको छ । बन्दाबन्दीका समयमा चुरे वन क्षेत्रमा स्थानीयवासीले जङ्गल फडानी गरी तस्करी गरिरहेका छन् । उनीहरुले मुख्य गरी सालका रुख कटान गरी तस्करी गरिरहेको स्थानीयवासीले बताएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको फाइदा उठाएर तस्करहरु काठ ओसार्न पल्केको रुपनीका राजु जयसवालले बताए । रासस