– राजीव विक्रम शाह : युवा नेता, नेपाली काँग्रेस

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?   


ADVERTISEMENT


एफएनसीसीआई, सीएनआई जस्ता उद्योगसँग सम्बन्धित संघसंस्थाहरु, वैदेशिक रोजगार, यातायात, पर्यटन, हवाइ लगायतका क्षेत्रमा काम गरिरहेका व्यवसायीहरुसँग भेटेर कोरोनाले पारेको असरको छलफल गरिरहेको छु । विभिन्न क्षेत्रमा कोरोनाले पारेका प्रभावहरुको अध्ययन, स्वास्थ्यकर्मी साथीहरु, क्वारेन्टिनका साथीहरुसँग भेटघाट र छलफल भइरहेकोछ । जिल्लाका कामहरु पनि चलिरहेका छन् । पार्टीको अधिवेशनको काम अघि बढिरहेको छ । क्रियाशिल सदस्य नवीकरण लगायतको काम पनि भइरहेको छ ।


ADVERTISEMENT

# # #


पार्टीको प्रतिपक्षी भूमिकालाई कसरी हेरिरहनु भएको छ ?  

नेपाली काँग्रेस प्रतिपक्षमा छ । जो जो नेपाली काँग्रेसका सदस्य संसद्मा पुग्नुभएको छ उहाँहरुले प्रतिपक्षको भूमिका निर्वाह गरिरहनु भएको छ । विभिन्न प्लेटफर्म र कमिटीहरुमार्फत सरकारलाई झक्झकाउने काम भइरहेको छ । तर प्रतिपक्षको भूमिका निर्वाह नगरेको अफवाह फैलिएको छ, यो सत्य होइन । हाम्रो काम मिडियामार्फत बाहिर नआएको मात्रै हो ।

पार्टीमा केही कमजोरी छ पनि ! आन्तरिक गूटहरुका कारण हाम्रो आवाज केन्द्रीकृत रुपमा बाहिर आउन सकेको छैन । जसकारण कुनै पक्षको मान्छेले संसद्मा कडा रुपमा बोल्यो भने अर्को गूटको मान्छेले इग्नोर गर्ने भएकाले अपोजिशन पार्टीको भूमिका नदेखिएको हो कि जस्तो लाग्न सक्छ ।

कामहरु भइरहेका छन्, उदाहरणका रुपमा भन्ने हो भने काँग्रेसले कोरोना कमिटीसहित दुईवटा अर्थ कमिटी गठन गरेको छ । नेपाली काँग्रेसले जनता र अर्थतन्त्रलाई ध्यानमा राखेर यी कमिटी गठन गरेको हो । यी कमिटीमा सांसद्हरु पनि हुनुहुन्छ जसले संसद् र कमिटीमा काम गरिरहनु भएको छ ।

जनताको आवाज उठाउन काँग्रेस चुकेको छैन तर बाहिर नआए जस्तो देखिएको चाहिँ छ ।

काँग्रेसले आगामी निर्वाचनको रणनीति कसरी बनाईरहेको छ ? पहिलो पार्टी बन्न सकिन्छ ?

अहिले ७७ वटै जिल्लामा जनताको नाडी छाम्न जानुभयो भने राजनीतिसँग नागरिकहरु विरक्त भए जस्तो देखिन्छ । उनीहरु राजनीतिबाट टाढा बस्न खोजे जस्तो देखिन्छ, राजनीतिबाट जनताको विश्वास हराएको देखिन्छ । जनताले विभिन्न समयमा लडेर यत्रो परिवर्तन आएको छ तर यो परिवर्तनले अझैपनि स्थायित्व पाउन सकेको छैन ।

यो परिवर्तनलाई स्थायित्व दिन जनताले नयाँ विकल्प खोजिरहेको जस्तो देखिन्छ । जस्तो कि अहिले नेकपाको दुई तिहाइ सरकार छ तर काम गर्न सकिरहेको छैन । कानून, न्याय, सामाजिक न्याय लगायतका सबै क्षेत्रमा सरकार चुकेको छ, भ्रस्टाचार, बलात्कार, हत्या, समाज विगठन हुने क्रियाकलाप जस्ता अपराध बढिरहेका छन् । त्यसैले दुई तिहाइको स्थायी सरकार बन्दा पनि जनता यो सरकारसँग खुशी छैनन् ।

नेकपासँग खुशी छैनन् भन्नुको मतलब जनताले काँग्रेसलाई खोजेका छन् भन्ने होइन, जनताले काँग्रेसलाई पनि खोजिरहेका छैनन् । जनताले नयाँ विकल्प खोजिरहेका छन् । जस्तो कि नेपाली काँग्रेसभित्रबाट वा नेकपा भित्रबाटै पनि अलिकति परिवर्तन आओस् भन्ने अपेक्षासहित केही नयाँ अनुहार कुरेर जनताहरु पर्खिए जस्तो देखिन्छ । यो यथार्थ बिषयलाई नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले मनन गर्दै रणनीति बनाउन आवश्यक देखिन्छ ।

सरकारसँग आजित हुँदा पनि जनताहरु प्रतिपक्षसँग पनि नजिक छैनन् । नेपाली काँग्रेसले आफूलाई सुधारेर अघि बढ्नुपर्ने बेला छ ।

यो कुरामा पार्टी चिन्तित छ त ?  

नेपाली काँग्रेस पुरानो पार्टीको हैसियतले अरु पार्टीभन्दा धेरै विकशित छ ।

काँग्रेसमा नयाँ ऊर्जा भएका नयाँ साथीहरु पनि हुनुहुन्छ र पुरानो अनुभव भएका नेताहरु पनि हुनुहुन्छ । यो नयाँ र पुरानोको समीकरण भएर अगाडि बढ्न सक्यो भने यो भन्दा राम्रो केही हुन्छ जस्तो लाग्दैन ।

केवल अब अग्रज नेताहरु व्यक्तिगत स्वार्थमा नरुमल्लिएर युवाहरुलाई समेत समेटेर अघि बढ्ने हो भने नेपाली काँग्रेसभित्र एउटा नयाँ ऊर्जा आउँन सक्छ र नेपाली जनतामा पनि एउटा नयाँ किसिमको सन्देश जानसक्छ । तर पुराना अनुहारहरु आफ्नो स्वार्थमा लागेर युवाहरुलाई साथ नदिने हो भने पार्टीमा फेरि एउटा दुर्घटना हुन्छ र जनताको आशा पनि मर्छ जस्तो मलाई लाग्दछ ।

पार्टीको नजिकिँदो महाधिवेशनमा तपाईको तयारी चाहिँ के छ ?

यो सहित मेरो लागि महाधिवेशनको तेस्रो अुनभव हुनेछ । एकपटक म माननीय भइसकेको छु, मेरै क्षेत्रमा हेर्ने हो भने २००७ देखि जाजरकोटले एउटा पनि केन्द्रीय सदस्य पाएको छैन । नेपाली काँग्रेसबाट जाजरकोटले एउटा सहायक मन्त्री मात्रै पाएको छ । अहिले पनि हेर्ने भने मेरो भेग कर्णालीबाट महामन्त्री र कोटाबाट जीवन शाही र हृदय थामी बाहेक कसैको उपस्थिति छैन ।

अन्य ठाउँमा हेर्ने हो भने एउटा जिल्लाबाट २-३ वटा मनोनित सदस्य छन्, तर कर्णालीका १० जिल्लाबाट ३ जना मात्र केन्द्रीय सदस्य रहेका छन् । हाम्रो प्रदेश पनि यही नेतृत्वको अभावका कारण पछि परेको जस्तो मलाई लाग्छ । त्यसैले साथीहरुको आग्रह अनुसार गत वर्ष नै केन्द्रीय सदस्यमा म लड्छु भनेर तयारी गरेको थिएँ, तर ब्याक हुनुपर्ने भयो । यसपाली म केन्द्रीय सदस्यका लागि तयारी गरिरहेको छु ।

पार्टीमा केन्द्रीय सदस्य बन्न कस्तो तयारीमा हुनुहुन्छ ?    

नेपाली काँग्रेसमा पुराना अग्रज नेतादेखि नयाँ पुस्ताको नेतृत्व छ । पार्टीका एजेन्डादेखि राष्ट्रिय मुद्दाहरु लगायत र जनतासंग जोडिएका सवालहरुमा नयाँ र पुरानो पुस्ताको समान सहभागिता चाहिन्छ । त्यसैले यो पार्टीलाई मिलाएर अघि बढाउन अब दुबै पुस्ताको सहभागिता आवश्यक छ ।

अहिले निकै कुरा चलिरहेको छ कि पुराना पुस्ताले नेतृत्व छोड्नुपर्छ र नयाँ आउनुपर्छ । तर यसमा म सहमत छैन । अग्रजहरुको योगदान बुझेर उहाँहरुलाई सम्मान गरेर नयाँ साथीहरुलाई समेट्नुपर्छ भन्ने मलाई लाग्छ । यो गतिमा अगाडि बढ्यौँ भने पार्टी बलियो हुन्छ ।

युवापंक्तिमा एक किसिमको उत्ताउलो किसिमको ऊर्जा हुन्छ । तर अनुभवी नेताहरुमा स्थायीत्व ऊर्जा हुन्छ । त्यसैले यी दुई पुस्तालाई मिलाएर जाने हो भने पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन सकिन्छ ।

मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने जिल्लाका साथीहरुको सहयोग रह्यो भने पहिला त महाधिवेशनमा महासमिति प्रतिनिधि भएरै केन्द्रीय सदस्यका रुपमा अगाडि आउने तयारी चलिरहेको छ । गत वर्ष तेह्रौ महाधिवेशनमा पनि मैले केन्द्रीय सदस्यका लागि तयारी गरेको थिएँ तर टिममा पर्न नसक्दा म पछि हट्नुपर्यो । परिस्थिति र संयोगले यसपाली चाहिँ आउनै पर्ने देखिएको छ ।

केन्द्रीय सदस्य भइसकेपछि पार्टी, देश र जनताका लागि के योगदान गर्छु भन्ने योजनामा हुनुहुन्छ ?

म के सपना बोकेर नेपाली काँग्रेसमा आएको थिएँ भने नेपाली काँग्रेस जनतामुखी पार्टी हो । यसले जनतालाई न्याय र अधिकार दिन्छ भन्ने विश्वासका साथ म पार्टीमा आवद्ध भएको हुँ । जब असुविधा हुन्छ, दुःख पर्छ तब नेपाली काँग्रेसको उपस्थिति हुन्छ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य भए पछि यसलाई एक ऊर्जाका साथ अघि बढाउन सक्छु भन्ने लाग्छ । म काठमाडौँमै जन्मिएँ, तर जनताको साथमा जानुपर्छ भनेर म फेरि मेरो पुख्र्यौली थलो जाजरकोट फर्किएँ ।

मलाई के लाग्छ भने नेपाली काँग्रेसलाई आम नागरिकसँग र आम नागरिकका दुःख पीडाहरुसँग जोड्नुपर्छ । केन्द्रिय सदस्य भएपछि मैले त्यसैगरी काम गर्ने योजना बनाएको छु ।

अबको महाधिवेशनबाट काँग्रेस हाँक्ने कस्तो नेतृत्व आउनुपर्छ ?

अहिले नेपाली काँग्रेस नयाँ कृयाशिल सदस्य नवीकरणको प्रक्रियामा छ । पार्टीले ५० प्रतिशतलाई मात्र नयाँ कृयाशिल सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो तर ७७ जिल्लाकै ‘फिडब्याक’ हेर्दा अहिले अपुग भएर १०० प्रतिशत थप्ने निर्णय पार्टीले गरेको छ । कोरोनाले यसमा केही असर गरेको होला । तर देशका विभिन्न युवा साथीहरुको ऊर्जा देखेर चाहिँ युवाहरुको प्रतिनिधित्व केन्द्रमा आउँछ जस्तो लाग्छ । युवाहरुको चासो युवा नै नेतृत्वमा आओस् भन्ने हुन्छ तर नयाँ पुरानालाई समेट्ने गरी राम्रो समिश्रणमा जान सकियो भने आउँदो स्थानीय चुनाव वा प्रदेश वा संघको चुनावमा फड्को मार्न सकिन्छ र काँग्रेसले बलियो बन्न सक्छ भन्ने लाग्छ ।

पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरु कसरी सञ्चालन गर्नुपर्छ ?

सर्बप्रथम त काँग्रेसको गरिमा र शक्तिलाई कायम राख्नेगरी पार्टी सञ्चालन गर्नुपर्दछ । योसंगै काँग्रेस पार्टीसंग जोडिएका भातृसंगठन तथा सुभेच्छुक संगठनहरुलाई समेत चुस्त दुरुस्त र प्रभाबकारी रुपमा अघि बढाउनुपर्छ । उदाहरणका रुपमा ४० बर्ष उमेर समुह सम्मका युवा उर्जा भएका साथीहरुलाई तरुणदल जिम्मा दिनुपर्छ । यस्तै, ३२ बर्ष सम्मका युवा बिधार्थीहरुहरुलाई नेबिसंघ चलाउने मौका दिनुपर्छ । प्रेस युनियन जस्तो सुभेच्छुक संगठनमा व्यवशायिक र पत्रकारितामा अब्बल पत्रकारहरुलाई समेट्ने र नेतृत्व गर्न दिनुपर्छ । महिलासंघलाई पनि सोही अनुसार प्रभावकारी रुपमा उर्जाशिल बनाएर दौडाउनुपर्छ । यी लगायत सबै संगठनहरुलाई नयाँ तरंगका साथ नयाँ जोश जाँगरले भरिपूर्ण बनाउँदै क्षमतावानहरुको नेतृत्वबाट अब्बल संगठन बनाउनुपर्छ । यस्ले गर्दा बर्तमान भातृ संगठनहरु जीवन्त बन्न सक्छन् । अन्ततगत्व सिँगो पार्टी नै मजबुत बन्न सक्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

कार्यकर्ता साथीहरु जो महाधिवेशनको प्रतिनिधि बनेर आउनुहुन्छ, उहाँहरुलाई काँग्रेसलाई मूल रुपमा गुट भन्दा पनि संगठनलाई ध्यानमा राखेर प्रतिनिधि छान्नुस् भन्न चाहन्छु । गुटभन्दा माथि उठेर संगठनका रुपमा अघि बढाउने हो भने काँग्रेसले विशेष फड्को मार्छ । त्यहीअनुसार अघि बढ्न आग्रह गर्छु ।