काठमाडौँ – प्रहरीले शरिर बन्धक बनाएर फिरौती माग गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँचखाल घर भई धुलिखेल बस्ने १९ वर्षीय आकाश परियार, २१ वर्षीय उनकी पत्नी सविना तामाङ र कोभ्रेकै रोशी गाउँपालिका घर भई धुलिखेल बस्ने २१ वर्षीय उमा परियार रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले उनीहरुलाई काभ्रेको पाँचखालका २३ वर्षीय राजकुमार दनुवारलाई बन्धक बनाएर फिरौती स्वरुप ५० हजार माग गरेको भन्दै पक्राउ गरेको हो । जसअनुसार आकाश र सबिना बिहीबार पक्राउ परेका हुन् भने उमा शुक्रबार पक्राउ परेकी हुन् ।


ADVERTISEMENT

# # #


पक्राउ परेका उनीहरुलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिएका छन् ।  डीएसपी थापाका अनुसार उनीहरुलाई ‘मुलुकी अपराध संहिता, २०७४’ को परिच्छेद–१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा मुघा चलाइएको छ ।

यस्तो छ घटनाक्रम

गत बुधबार काभ्रेको धुलिखेल बस्ने २१ वर्षीय सविना तामाङले काभ्रे पाँचखाल नगरपालिका वडा नं. १२ देवभुमीका राज कुमार दनुवारलाई फोन सम्पर्क गरी भेटघाटका लागि बोलाइन् ।

सविनाको फोन अनुसार नै राजकुमार भेटका लागि धुलिखेल नगरपालिका वडा नं. ४ स्थित २८ किलोमा पुगे । त्यहाँ उनले सविनासँगै उमा परियार परिवारसमेतलाई भेटे । भेटपश्चात सविनाले राजकुमारलाई जंगलतर्फ लगिन् ।

जंगलको एकान्त स्थानमा पुगेपछि उनीहरुबीच कुराकानी सुरु हुन थाल्यो । तर, त्यही समयमा सविनाका श्रीमान् आकाश परियार लगायत अन्य व्यक्तिहरुले राजकुमारलाई नियन्त्रणमा लिए । त्यसपश्चात उनीहरुले राजकुमारको परिवारलाई फोन गरेर उनलाई बन्धक बनाएको र छोड्नका लागि ५० हजार दिनुपर्ने धम्की दिए ।

राजकुमारको परिवारले साँझ ८ बजे जिप्रका काभ्रेलाई उक्त घटनाबारे जानकारी गराए । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनाको अनुसन्धान थाल्यो र अन्ततः राजकुमार बनेपा–१० बुडोलबाट सकुशल सोही दिन राती ११ः३० बजे उद्दार गर्‍यो ।