वीरगञ्ज– बारा जिल्लाको गढीमाई नगरपालिका–२ तेलकुवा मुसहर बस्तीका ७० वर्षीय तनु माझीमा असार २ गते हुने स्थानीयतहको तेस्रो चरणको निर्वाचनप्रति खासै चासो देखिएन ।


ADVERTISEMENT


वृद्ध माझीको निर्वाचनप्रति चासो नहुनु पनि स्वाभाविक नै छ । बस्ती नभएर एउटा उजाड ठाउँजस्तो देखिने सो बस्तीमा माझीलाई मात्र होइन अन्य मुसहरलाई पनि निर्वाचनप्रति कुनै लोभलालच देखिएको छैन ।


ADVERTISEMENT

# # #


लोकतन्त्र प्राप्तिपछि देशमा ठूल्ठूला परिवर्तन भए तर यो तेलकुवाका मुसहर बस्तीमा भने केही परिवर्तन हुन सकेन । प्रत्येक चोटीको निर्वाचनमा नेताले झुठो आश्वासन दिएर हाम्रोे भोट लिएर जितेर जान्छन्, तर फर्किएर कहिल्यै आउँदैनन्, वृद्ध माझी मलिनो अनुहार लाएर भन्छन् । कुन नेताले आजसम्म हामीलाई चिनेको छ र ? हामी दिनदिनै गरिब हुँदै गएका छौँ, हेर्ने कोही नेता भएनन्, उनी भन्छन् ।

एकसय ६० घरधुरी रहेको यो बस्तीमा करिब ३०० मुसहर मतदाता रहेका छन् । चुनावी माहोलको ताँती लाग्दा पनि ती मुसहर बस्तीका मतदाता दैनिक जीवनयापन गर्नका लागि साहु महाजनको खेतमा काम गरी दिन बिताउने गरेका छन् ।

पटकपटक निर्वाचन हुन्छ, नेताले ठूलठूला आश्वासन दिएर हाम्रो भोट लान्छन् तर जितिसकेपछि ती नेता कहिल्यै पनि हाम्रो दुःख पीडा बुझ्न फर्केर आउँदैनन्, अर्का वृद्ध बाबुलाल माझी पीडा पोख्दै भन्छन्– मुलुकमा धेरै परिवर्तन भएको आफूले सुनेको छु, तर हाम्रो मुसहर बस्तीको अवस्था आदिमयुगको जस्तै भएको छ । तर यसपालि भने ती मुसहर बस्तीका बासिन्दाले भने अर्कै उपाय सोचेका छन् ।

उनीहरुले मत माग्न आउने उम्मेदवारसँग पक्की घर, निःशुल्क शिक्षा र खानेपानीजस्ता आधारभूत आवश्यकतालाई जसले पूरा गर्छ उसैलाई मत दिन्छु, स्थानीय लालमतिदेवी माझी भन्छिन्– हामी बसेको जग्गाको लालपूर्जा हामीसँग छैन, सोको पनि व्यवस्था मिलाउने आश्वासन उम्मेदवारले दिनै पर्छ ।

ऐलानी जग्गामा घर बनाई बसिरहेका ८० घर परिवारका लागि त्यहाँ तीनवटा चापाकल रहेका छन् ती पनि अरुले जडान गरेका चापा कलहरु । २०६४ र २०७० सालको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा ९एमाले० र माओवादीका नेताले मुसहरबस्तीको मुहार फेर्न ठूलठूला सपना देखाए, तर आजसम्म यस बस्तीका आधारभूत आवश्यकता कसैले पूरा नगरेको पीडा मतदाता रामजी माझीसँग ताजै रहेको छ ।

सदरमुकाम कलैयाबजारदेखि बरियारपुर सडकखण्डको भुतही पुलदेखि करिब दुई किलोमिटरको दूरीमा रहेको सो बस्ती छेउबाटै खोला बगेको छ । साउनको अन्तिम साता आएको बाढीबाट मुसहरबस्तीमा ठूलै असर परेको थियो । सो बाढीले अन्न, लत्ताकपडालगायतका सामान बगाएर लगेपछि उनीहरु झन् पीडित भएका थिए । गढीमाई नगरपालिका–२ र ७ नं वडामा ती मुसहरबस्ती रहेका छन् ।

हाम्रो संविधानले दिएको अधिकार प्रयोग गर्न हामीले भोट त हाल्छौँ, तर यसपालि उधारोमा होइन, लोरिक माझी भन्छन्, हाम्रो आधारभूत आवश्यकता पूरा गर्ने जुन उम्मेदवारले लिखित प्रतिबद्धता जनाउँछन् उनै उम्मेदवारलाई मत हाल्ने छौँ ।

शिक्षा, खानेपानी, स्वास्थ्य, शौचालयजस्ता आधारभूत आवश्यकताबाट वञ्चित मुसहरबस्तीका दलित बासिन्दाको नाममा धेरै सरकारी तथा गैरसरकारी संघसंस्थाले आर्थिक लाभ त लिन सफल भए, तर उनीहरुको दशा जस्ताको तस्तै रहेको छ– सञ्चारकर्मी तथा मानवअधिकारकर्मी श्यामबाबु यादव भन्छन् — दलितको मत लिएर जित्ने नेताहरुकै विभेदको कारण मुसहरबस्तीका बासिन्दाको जीवनस्तर आजसम्म कष्टकर नै रहेको छ ।

साहु महाजनको खेतमा दैनिक ज्यालादारी गरी मजदुरीबापत पाउने पाँच किलो धान बेचेर त्यसबाट आउने पैसाले दाल, चामललगायतका आवश्यक सामान खरिद गरी गुजारा गर्ने हाम्रो दिनचर्या नै भएको भन्दै स्थानीय भरछिया माझी भन्छिन्— छोराछोरीलाई औषधि गराउनु, पढाउनु, राम्रो लगाउनु, मीठो खानु हाम्रा लागि आकाशको फलजस्तै भएको छ । बस्तीमा रहेका बालबालिका स्वस्थ तथा पोषिलो खानाको अभावमा कुपोषणको सिकार हुने गरेका छन् ।

स्थानीयतहमा दलित महिला सदस्य अनिवार्य भएकाले असोज २ गते स्थानीयतहको तेस्रो चरणको निर्वाचनमा मुसहरबस्तीका मतदातालाई तान्न नेकपा (एमाले) ले वडा सदस्यमा लोरिक माझी र लालमति मुसहरलाई, संघीय समाजवादी फोरम नेपालले वडासदस्यमा मन्जोतिया मुसहरलाई उम्मेदवार बनाएको छ ।

दैनिक गुजारा, लत्ताकपडा भोजभतेरको लागि ऋण लिने भएकाले दलितबस्तीका सबै परिवार साहु महाजनकहाँ ऋण लिएर ऋणमा डुबेको भन्दै मुसहरबस्तीलाई नजिकबाट नियाल्दै आएका अर्का सञ्चारकर्मी सुभाषकुमार रामले भने– वर्ष दिन बित्दा पनि जनता आवास कार्यक्रमले पक्की घर दिन नसकेपछि टुटेफुटेको छाप्रो घरमा रात बिताउन यी मुसहरबस्तीका बासिन्दाको बानी नै परिसकेको छ ।

जनता आवास कार्यक्रमअन्तर्गत सरकारले मुसहरबस्तीमा पक्की घर बनाउन करोडौँ रुपैयाँ दिए पनि त्यो रकम वास्तविक घरबार विहीनका लागि घर बनाउनेतर्फ खर्च भएको देखिँदैन– सहरी विकास तथा भवन कार्यालयका एक कर्मचारी भन्छन् । यस क्षेत्रका सांसद तथा जनप्रतिनिधिले आ–आफ्नै पार्टीका कार्यकर्ताको घर बनाउने सूची तयार गर्न थालेपछि मनोमानी बढन गएकाले सोकाम हालसम्म हुन नसकेको बताइन्छ ।

यस कार्यालयअन्तर्गत प्रत्येक घरका लागि रु दुई लाख १४ हजारका दरले बारा, पर्सा र रौतहटमा गरी तीनहजार घर बनाउन छ करोडभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ । जनता आवास घर बनाउन बारामा मात्रै नौ हजार मुसहरले निवेदन दिएको लामो समय भई सकेपनि अहिलेसम्म केही उपलब्धि भने हुन नसकेको मुसहरबस्तीका बासिन्दाको भनाइ छ । पछिल्लो जनगणनाअनुसार बारा जिल्लामा नौ हजार ६३९ दलित मुसहर परिवार रहेका छन् ।

तेलकुवाका मुसहरबस्तीमा जो कोही गएमा त्यहाँको अवस्था, रहनसहन बारे हेरेरै थाहापाउन सकिन्छ कि यो बस्ती कति दयनीय अवस्थाबाट गुज्रिरहेको छ । मुसहरबस्तीका बासिन्दा भन्छन्—नेताहरुलाई हाम्रो चिन्ता नै छैन भने हामी किन र कसका लागि चुनाव प्रचारप्रसारमा जाने र कसलाई मतदान गर्ने ?

बारा जिल्लामा पाँच नगरपालिका, दुई उपमहानगरपालिका, नौ गाउँपालिका गरी १६ स्थानीय तह रहेका छन् भने १६७ वडा रहेका छन् । जिल्लामा तीन लाख ३४ हजार ७४६ मतदाता, ३०४ मतदान स्थल र ४५९ वटा मतदान केन्द्र रहेका छन् । रासस