कञ्चनपुर – महाकाली नगरपालिका–१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गरेका छन् । उनले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट पोष्ट राख्न दान गरेका हुन्।


ADVERTISEMENT


सशस्त्र प्रहरीको आग्रहअनुसार सीमा सुरक्षामा सहयोग पुगाउन जग्गा दान गरिएको उनले बताए । “सशस्त्र प्रहरी यहाँ सीमा सुरक्षाका लागि आएको छ । उहाँहरुलाई सहयोग गर्न हामी सबैको दायित्व हो”, समाजसेवी बस्नेतले भने, “सशस्त्रलाई भवन लगायतका संरचना बनाउन सहज होस् भनेर जग्गा सहयोग गरेका छौँ ।”


ADVERTISEMENT

# # #


उनले महाकाली नगरपालिकाप्रमुख वीरबहादुर सुनार, नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१० का अध्यक्ष नरबहादुर सुनार लगायतको रोहवरमा जग्गाको मञ्जुरिनामा दिएका हुन् ।

दोधारा चाँदनी क्षेत्रमा बस्दै आएको बस्नेत परिवारले यसअघि पनि महाकाली– १० कै हरिओम आधारभूत विद्यालयलाई चार कट्ठा जग्गा दान गरेका थिए । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई जग्गा सहयोग गर्न बस्नेत परिवारसहित दोधारा चाँदनीका सबै बासिन्दाका लागि गर्वको विषय भएको नगर प्रमुख सुनारले जानकारी दिए ।