काठमाडौँ – भैरहवाका रामलखन जैसवालको वीर अस्पतालमा उपचारका क्रममा निधन भएपछि परिवारले घटनाबारे शंका व्यक्त गरेको छ ।


ADVERTISEMENT


कर्तव्य ज्यान मुद्दामा करिब ९ वर्षदेखि केन्द्रीय कारागार नख्खुबाट जेल सजाय भोगिरहेका ६६ वर्षीय रामलखनलाई कारागारले उपचारका लागि गत शनिबार वीर अस्पताल पुर्‍याएको थियो । गते सोही दिन मृत्यु भएका उनमा अस्पतालले आइतबार कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको थियो ।


ADVERTISEMENT

# # #


तर, परिवारले भने मृतकका आँखा, टाउकोमा रगत देखिएको, शरिरभरि फोका उठेको, घाँटीमा समेत मास्क लगाएर छोपिएको भन्दै उनको कोरोनाका कारण नभई हत्या गरिएको आरोप लगाएको छ ।

‘शरिरको स्थिति हेर्दा कोरोनाका कारण मरेको भन्दा पनि मारेको देखिन्छ ।’ मृतकका भतिजा शिवम् जैसवालले शंका व्यक्त गर्दै हिमालय पोष्टसँग भने, ‘आँखाभरि रगत छ । घाँटीमा पनि मास्क लगाइएको छ । शरिरभरि पानीको फोकैफोका छ ।’

रामलखनको मृत्यु अस्पतालमा नभई जेलमै भएको हुनसक्ने समेत उनले आशंका व्यक्त गर्दै भने, ‘कोरोना लागेर मृत्यु भएको मान्छेको शरिरको अवस्था यस्तो हुँदैन होला । मैँले पनि मिडियामा पढेको, बुझेको छु ।’

उनले घटनाबारे गम्भीर छानबिन हुनु पर्ने समेत माग गरे । परिवारले मृतक रामलखनको शरिरबाट महत्वपूर्ण अंग झिकिएको हुनसक्ने समेत शंका व्यक्त गरेको छ ।

शंकास्पद मृत्यु देखिएपछि परिवारले अस्पतालमा आन्दोलन समेत गरेको छ ।

यता केन्द्रीय कारागार नख्खुका जेलर लक्ष्मी बाँस्कोटा भने कारागारका तर्फबाट कुनै गल्ती नभएको बताउँछन् ।

श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि वीर अस्पताल लगिएको बताउँदै उनले अस्पताल लिनुअघि रामलखनको अहिले बाहिर आएजस्तो अवस्था नरहेको उनले हिमालय पोष्टलाई जानकारी दिए ।

‘सीसीटीभी फुटेज हेर्दा उहाँको न त कतै दाग देखिन्छ न कतै घाउ छ । प्रहरीले ह्वील चियरमा राखेर उहाँलाई एकदम सकुशलका साथ जेलबाट लिएको स्पष्ट देखिन्छ ।’ उनले हिमालय पोष्टसँग टेलिफोनमा भने, ‘उहाँ बोल्दै गरेको, उहाँले नमस्ते गरेको, श्वास फेर्न गाह्रो भयो भनेर श्वाश्वा गरेको समेत फुटेजमा देखिन्छ ।’

जेलमै मृत्यु भएको हुनसक्छ भनेर शंका गर्नु पनि स्वभावै भए पनि कारागारका तर्फबाट कुनै गल्ती नभएको उनले बताए । ‘अस्पतालले चढाएको औषधिका कारणले त्यस्तो देखिएको हो वा अस्पतालमा केही भयो, त्यो हामीले भन्न सक्दैनौँ ।’ उनले भने, ‘तर, हामी विश्वस्त छौँ कि हाम्रो तर्फबाट केही पनि भएको छैन ।’

घटनाको अनसुन्धानका लागि पीडित परिवारलाई सहयोग गर्नसमेत आफू तयार भएको उनले बताए । घटनाबारे हिमालय पोष्टले वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकिरहेको छैन ।

के भन्छन् मृतकका परिवार र कारागारका जेलर ? हिमालय पोष्टले गरेको टेलिफोनको अंश :

शिवम जैसवाल (मृतकका भतिजा )

हामीलाई उहाँको मृत्यु भएको भनेर शनिबार (असोज ३ गते) फोन आएको थियो । श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि हामीले वीर अस्पताल लगेका थियौँ, उपचारका क्रममा उहाँको ११ बजे मृत्यु भयो भनेर जानकारी दिइयो । खबर पाएपछि आइतबार हामी भैरहवा, रुपन्देहीबाट काठमाडौँ आयौँ । तर, अस्पतालले स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएकाले शव हेर्न नमिल्ने बतायो । एक दुई दिनमै रिर्पोट आउँछ भनेपछि हामी काठमाडौँमै बस्यौँ ।

हिजो साँझ ४ बजे रिपोर्ट पोजेटिभ भनेर आयो । पोजेटिभ आएपछि हामीलाई दाहसंस्कार गर्न पाउँदैनौ, आर्मीले शव गर्नुपर्छ भन्ने कुरा उहाँहरुले गर्नुभयो । हामीले त्यती टाढाबाट आइएको छ, चित्त बुझाउनलाई भएपनि अनुहार त देखाइदिनु पर्यो भनेर जेलरसा’बलाई हामीले अनुरोध गर्‍यौँ । उहाँले हेरौँला के हुन्छ भन्नु भयो ।

बिहान शव हेर्न पाउनुपर्छ भन्दा धक्कामुक्की भयो । मृतकको आँखाभरि रगत छ । घाँटीमा पनि मास्क लगाइएको छ । शरिरभरि पानीको फोकैफोका छ । शरिर पनि गोरो मान्छे कसरी कालो भयो ? कोरोना लागेको मान्छेको शरिरको अवस्था यस्तो हुँदैन होला, मैँले पनि मिडियामा पढेको, बुझेको छु ।

शरिरको स्थिति हेर्दा कोरोनाका कारण मरेको भन्दा पनि मारेको देखिन्छ । उहाँको कारागारभित्र नै मृत्यु भएर अस्पताल ल्याइएको भन्ने पनि सुनियो ।

लक्ष्मी बाँस्कोटा (जेलर, केन्द्रीय काराकार नख्खु )

उहाँको ३ गते मृत्यु भएको हो । हिजो पीसीआरको रिपोर्ट आयो । पोजेटिभ देखिएकाले हामीले त्यही अनुसार व्यवस्थापन गर्दै थियौँ । हामीले पनि शवलाई देखेका थिएनौँ । तर उहाँहरु (पारिवार) त्यो फोटो लिएर आउनु भएको थियो । यस्तो शंकास्द देखियो भनेर भन्नु भएको थियो । मैँले हाम्रोमा त्यस्तो हुँदैन । उहाँ हामीले पहिल्यै देखि माया गरेर राखिराखेको मान्छे हो भनेर भनेँ । तर, उहाँहरु विश्वस्त हुनु भएन ।

त्यसपछि मैँले प्रारम्भिक अुसन्धान गर्ने कुरा गरेँ । सीसीटीभीका सबै फुटेजहरु हेरेँ । फुटेज हेर्दा उहाँका न त कतै दाग देखिन्छ न कतै घाउ वा दाग छ । प्रहरीले उहाँहरुलाई ह्वील चियरमा राखेर उहाँलाई एकदम शकुसलका साथ लगेको स्पष्ट देखिन्छ । उहाँ बोल्दै गरेको, उहाँले नमस्ते गरेको, श्वास फेर्न गाह्रो भयो भनेर श्वाश्वा गरेको फुटेजमा देखिन्छ । यसरी हामीले उहाँलाई अस्पताल पठायौँ । अस्पतालले चढाएको औषधिका कारणले त्यस्तो देखिएको हो वा अस्पतालमा केही भयो, त्यो हामीले भन्न सक्दैनौँ । यति भन्दा पनि उहाँहरु विश्वस्त हुनु भएन । नमानेपछि मैँले माथिल्लो निकायमा गएर गुनासो गर्नु, त्यसपछि के गर्नुपर्छ हामी पनि सहयोग गरौँला भनेर पठाइदिएको छु उहाँहरुलाई ।

जेलमै मृत्यु भएको हुनसक्छ भनेर शंका गर्नु पनि स्वभावै हो । तर हामी विश्वस्त छौँ कि हाम्रो तर्फबाट केही पनि भएको छैन । मैँले उहाँहरुलाई सीसीटीभी फुटेज हेर्न आउनु भनेर बोलाएको पनि छु । मैँले उहाँहरुलाई विश्वस्त गर्न नसके मानव अधिकार आयोगमा, गृहमन्त्रालयमा, महान्यायाधीवक्ताको कार्यालयमा, कारागार व्यवस्थापन विभागमा जान सक्नुहुन्छ भनेर नामै टिपेर उहाँहरुलाई दिएको छु ।