काठमाडौँ – महानगरीय ट्राफिक महाशाखाले हराएको सवारी चालक अनुमति पत्र (लाईसेन्स), सवारी दर्ता किताब र सवारी ईजाजत पत्रको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस बनाउन सक्नेछन् ।


ADVERTISEMENT


ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ले सिर्जना गरेको अवस्थालाई मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा आजैबाट यस्तो व्यवस्थाको शुरुवात महाशाखाले गरेको हो ।


ADVERTISEMENT

# # #


महाशाखाका प्रमुख एसएसपी भिम ढकालले हराएको लाईसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए ।

उनले दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेको जानकारी समेत दिए । यो प्रणाली सुरु भएसँगै ट्राफिक कार्यालय गएर लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिन सकिने बताए ।

यसरी भर्नुहोस् फारम

सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ ‘लस्ट डकुमेन्टस एप्लिकेसन‘मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने महाशाखाले जनाएको छ ।

यस्तै, सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो त्यो सेलेक्ट गर्नुपर्नेछ । त्यसपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईल वा स्क्यान कपि सेवाग्राहीले अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

महाशाखाका अनुसार मागेबमोजिम सबै विवरण सब्मिट वा भरिसकेपछि सेवाग्राहीलाई एप्लिकेसन नम्बर प्राप्त हुन्छ । सेवाग्राहीले अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सक्नेछन । यसको लागि सेवाग्राहीले उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।