काठमाडौँ – कोरोना महामारीपछि रोजगारी गुमाएर देश फर्किनेको संख्या बढेको छ । कोरोना महमारीपछि ७० हजारभन्दा बढी श्रमिक नेपाल फर्किसकेका छन् भने थुप्रैले रोजगारी गुमाएका छन् । यो अवधिमा नयाँ र पुरानो दुबै वैदेशिक श्रम स्वीकृति पनि ९९ प्रतिशतले घटेकाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या जम्मा १ प्रतिशत मात्र छ । विश्व महामारीका रुपमा देखिएको कोरोनापछि रेमिट्यान्स कम्तीमा पनि २० प्रतिशतले घट्ने सर्वेक्षण गरिएकोमा यस्तो अवस्थामा पनि रेमिट्यान्स भने उल्टो बढेको छ ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७७÷७८ को पहिलो महीनामा अघिल्लो वर्षको यही अवधिको तुलनमा २ प्रतिशतले रेमिट्यान्स बढेर ९२ अर्ब ७१ करोड रूपैयाँ नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा नेपालमा २ प्रतिशतले रेमिट्यान्स बढेकोमा रेमिट्यान्सको दायरा पनि २३ प्रतिशतले बढेको उल्लेख छ।


ADVERTISEMENT

# # #


चैतमा लकडाउन गरिँदा ठूलो संख्यामा नेपालीले रोजगारी गुमाउने र यसको प्रभाव रेमिट्यान्समा पर्ने आकलन गरिएपनि सो आकलनअनुसार रोजगारी नगुमेको र सेवाबाहेक उत्पादन क्षेत्र प्रभावित नभएको कारण रेमिट्यान्स सकारात्मक भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । यस्तै यो अवधिमा अनधिकृत रकम भित्रिन रोकिएको र कानूनी बाटोबाट मात्र रकम भित्र्याउन सकिने भएको कारण पनि रेमिट्यान्स बढेको हुनसक्ने उनको भनाइ छ । ‘लकडाउनपछि देशमा आयात घट्यो, आयात घटेपछि अवैध रुपमा आयातमा हुन्डीमार्फत प्रयोग हुने रकम पनि बैंकिङ च्यानलबाट नेपाल आएको हुनसक्छ भएकाले रेमिट्यान्स कम प्रभावित भएको हुनसक्छ,’ उनले बताए ।