काठमाडौँ – चौतर्फी विरोध भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलाडीको केन्द्रीय सम्झौता फेरबदल गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


ग्रेडिङमा केही महत्वपूर्ण खेलाडी छुटेको र वर्गीकरण न्यायोचित नभएको गुनासो आएकाले ग्रेडिङ पुनः गर्न लागेको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका छन् । उनका अनुसार महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गरेर खेलाडी वर्गीकरण निर्धारण समितिले पुनः वर्गीकरण प्रतिवेदन तयार पार्नेछ ।


ADVERTISEMENT

# # #


समितिको प्रतिवेदन अनुसार क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट खेलाडीको पुनः ग्रेडिङ गर्नेछ ।

यसअघि क्यानका कोषध्यक्ष रोशन कुमार सिंहको संयोजकत्वमा सदस्य अमितवीर सिंह र दुर्गाराज पाठकसहितको खेलाडी वर्गीकरण निर्धारण समितिले १८ जना राष्ट्रिय पुरुष खेलाडी र १९ जना महिला खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा राख्दै २०२० को केन्द्रीय सम्झौताका लागि सिफारिस गरेको थियो ।

असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले समितिको सिफारिस अनुसार खेलाडी वर्गीकरणको निर्णय गरेको थियो । तर, केही महत्वपूर्ण खेलाडीलाई नै ग्रेडिङमा नराखिएको र आफू निकट हेरेर वर्गीकरण गरिएको भन्दै क्रिकेट समर्थक तथा खेलाडीहरुबाट विरोध भएको थियो ।

चौतर्फी विरोध भएपछि क्यान खेलाडी वर्गीकरणको निर्णय सच्याउने बाटोमा लागेको छ ।

यस्तो थियो यसअघिको वर्गीकरण : 

राष्ट्रिय पुरुष खेलाडी

श्रेणी ‘ए’
पारस खड्का, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दिप लामिछाने, शरद भेषावकर, करण केसी, वसन्त रेग्मी, दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारी ।

श्रेणी ‘बी’
सुसन भारी, सोमपाल कामी, आरीफ शेख र पवन सर्राफ ।

श्रेणी ‘सी’
शुभास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, राशीद खान, अभिनाश बोहोरा र कमल सिंह ऐरी ।

राष्ट्रिय महिला खेलाडी

श्रेणी ‘ए’
रुबीना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता राना मगर र करुणा भन्डारी ।

श्रेणी ‘बी’
ज्योति पान्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रीतु कनौजीया, काजल श्रेष्ठ र सरीता मगर ।

श्रेणी ‘सी’
कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले ।