काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ । केन्द्रीय निर्वाचन समितिले अब दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको छ ।

मतदानको समय निर्धारण गर्न निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारी पदका उम्मेदवारहरूसँग छलफल गरेको थियो । छलफलपछि मतदान दिउँसो २ बजेदेखि सुरु गर्ने निर्णय गरिएको हो ।

यसअघि निर्वाचन समितिले बिहान १० बजेदेखि मतदान सुरु गर्ने जनाएको थियो । तर निर्वाचनसम्बन्धी तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो । त्यसपछि पुनः समय थप गर्दै २ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको हो ।

मतदानको समय पटक–पटक परिवर्तन भएपछि महाधिवेशन प्रतिनिधिहरू भने राष्ट्रिय सभा गृह परिसरमा मतदानको प्रतीक्षामा रहेका छन् ।

नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।