काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिएकी छन्।


ADVERTISEMENT


पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरिन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारीले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गरिन् ।

विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्तरूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उनले राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागि भएका ऐन÷कानूनको कार्यान्वयनसँगै नयाँ कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

सभामुख ओनसरी घर्तीले महिला, दलित तथा अन्य उत्पीडनमा पारिएको समुदायको अधिकार प्राप्तिका लागि पनि समयभित्रै संविधान कार्यान्वयन गर्नुपर्ने भएकाले त्यसतर्फ केन्द्रित हुन सबैमा अपिल गरिन् ।

निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले महिलाको नीति निर्माण तहमा सहभागिताका लागि स्थानीयस्तरबाटै शुरू गर्नुपर्छ भनिन् ।

करिब एक घण्टाको वृत्तचित्रमा नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, निवर्तमान प्रधानन्यायाधीश सुशील कार्कीलगायत संघर्षबाट स्थापित विभिन्न व्यक्तिको व्यक्तित्व, संघर्ष र सफलतालाई समेटिएको छ । रासस