काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नेगरि तयारी गर्न त्रिभुवन बिश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन् । उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्दैै परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिए ।

विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई केवल पठनपाठनमा सीमित नराखी राष्ट्रको नीति, कानुन र पाठ्यक्रम निर्माणमा सहयोग पुर्याउने मुख्य थिंक ट्याङ्क र अनुसन्धान संस्थाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

नेपालका १५ वटै विश्वविद्यालयहरू कुनै न कुनै रूपमा त्रिभुवन विश्वविद्यालयसँग जोडिएकाले त्रिविले अन्य विश्वविद्यालयहरूका लागि पनि अभिभावकीय र समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने दायित्व रहेको उनले बताए । पोखरेलले त्रिविको अधिकार केन्द्रमा सीमित नराखी विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसै वर्षदेखि काठमाडौँ बाहिरका प्रदेशहरूमा पनि दीक्षान्त समारोह आयोजना गरेर विकेन्द्रीकरणको सुरुवात गरिन लागेको जानकारी दिए ।

उनले काठमाडौँभित्र र बाहिरका आङ्गिक क्याम्पसहरूको जीर्ण पूर्वाधारमा सुधार ल्याउने, पार्क तथा खुला क्षेत्रहरूको सरसफाइ र सौन्दर्यीकरण गरी विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गर्ने वातावरण बनाउन सुझाव दिए । पठनपाठनका साथसाथै विद्यार्थीहरूमाझ नवीन सोच र अनुसन्धानलाई प्रवर्धन गर्न प्रभावकारी रूपमा इनोभेसन सेन्टरहरू सञ्चालन गर्न समेत उहाले आग्रह गरे ।