काठमाडौँ– नेपालको जलविद्युत् आयोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नयाँ नियम लागू भएपछि नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका परियोजना समस्यामा परेका छन् ।


ADVERTISEMENT


दैनिक काम नै रोकिएको भन्दै आयोजना प्रमुखले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई तत्काल समस्या समाधान गरिदिन आग्रहसमेत गरेका छन् ।


ADVERTISEMENT

# # #


गत भदौ ३० गते आयोजनाको स्थलगत अनुगमनमा पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपाओर लिमिटेडका प्रबन्ध सञ्चालक माधव कोइरालाले सिमेन्ट अभावमा निर्माण कार्य प्रभावित भएको बताएका थिए ।
प्रबन्ध निर्देशक कोइरालाका अनुसार सो आयोजनामा दैनिक १०० टन सिमेन्ट आवश्यक पर्दछ । नापतौल तथा गुणस्तर विभागले भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने भन्दै निर्देशनात्मक परिपत्र गरेको थियो । सो आयोजनमा भारतीय जेपी र जेपी गोल्ड सिमेन्ट प्रयोग भइरहेको छ ।

नेपाली सिमेन्ट प्रयोग गर्न सकिने भए पनि त्यसको पनि गुणस्तर परीक्षण गरिएको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको रसुवागढी मात्रै नभई माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजना विगत पाँच महिनादेखि सिमेन्टको अभावमा प्रभावित हुन पुगेको छ । भारतीय पक्षले भने सिमेन्टको मात्रा थोरै हुने भएकाले आफूले एनएस चिह्न राखेर पठाउन नसक्ने जवाफ पठाएको रसुवागढीका प्रबन्ध निर्देशक कोइरालाको भनाइ छ ।

कूल १११ मेगावाट क्षमताको सो आयोजनाको भूकम्प र नाकाबन्दीपछि निर्माणसक्ने नयाँ कार्यतालिका सन् २०१९ तोकिएको छ । सान्जेनका दुवै जलविद्युत् आयोजनामा पनि दैनिक १०० टनभन्दा बढी सिमेन्ट खपत हुन्छ । सिमेन्ट अभावमा आयोजना ढलान तथा कङ्क्रिटको काम प्रभावित भएको छ । चौध मेगावाट क्षमताको माथिल्लो सान्जेनको निर्माण कार्य ६० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ ।

यस्तै गत वैशाखदेखि मात्रै पुनःनिर्माणको काम शुरु गरेको माथिल्लो त्रिशूली थ्री ए मा पनि सिमेन्टको समस्या देखिएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले पनि कोइरालाकै शैलीमा सिमेन्टको समस्या समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग आग्रह गरे ।

भूकम्पका कारण प्रभावित भएको माथिल्लो त्रिशूली थ्री मा चिनियाँ ठेकेदार गेजुवाले काम गर्न अनिच्छा व्यक्त गर्दै आएको थियो । ऊर्जा मन्त्रालयको दबाबपछि चिनियाँ ठेकेदार काम गर्न आए पनि सिमेन्ट उपलब्ध नहुँदा थप समस्या आउनसक्ने देखिएको छ ।

ठेकेदारले काम शुरु गरेपछि सो आयोजनाको सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ । कूल चार हजार १०० मिटर लामो सुरुङमध्ये अब २४ मिटर मात्रै खन्न बाँकी रहेको जानकारी दिँदै आयोजना प्रमुख जोशीले दशैँसम्म सुरुङ ‘ब्रेक थ्रु’ हुने बताए ।

माथिल्लो थ्री ए आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजना हो । कहिले आयोजनाको क्षमता वृद्धि गर्ने विवाद त कहिले ठेकेदारसँग काम गर्ने सवालमा देखिएको असमझदारीका कारण परियोजना डेढ वर्ष पर धकेलिएको छ ।

माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो सान्जेन, सान्जेन र रसुवागढीमा एकै प्रकारको समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उच्च राजनीतिक एवं कूटनीतिक तहमा छलफल गरेर समाधान गर्ने बएका छन् ।

घिसिङले भने, “सिमेन्टका कारण आयोजना रोकिने अवस्था आउँदैन । म समस्या समाधान गर्ने प्रयास गर्नेछु ।” नापतौल तथा गुणस्तर विभागले भने निर्माण कार्यलाई गुणस्तरीय बनाउन स्वदेशी तथा विदेशी सबै खालका सिमेन्टको गुणस्तर मापन जरुरी रहेको जनाएको छ ।

निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीले भने भारतीय सिमेन्टमा समस्या भए नेपाली सिमेन्टको गुणस्तर परीक्षण गरेर तत्काल काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै आएका छन् । रमेश लम्साल/रासस