काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीमा उत्पन्न संकट र समस्याको समाधानलाई कार्यसूचि बनाएर छलफल गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार उक्त कार्यसूचि अनुसार यसअघिको स्थायी कमिटिको निर्णय कार्यान्वयन, कर्णाली प्रदेश लगायतका क्षेत्रमा उत्पन्न घटनाक्रम, कोभिड–१९ को रोकथाम, उपचार र त्यसले पैदा गरेको आर्थिक संकट र पार्टी र सरकार लगायतका विषयमा छलफल हुनेछ । तर, मुख्य कार्यसूचि पार्टीमा उत्पन्न संकट र त्यसको समाधान रहेको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै पाँचजना सचिवालय सदस्यले सहमतिमा सचिवालय बैठक बस्न आग्रह गरेको पत्रको जवाफमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र लेखेका थिए । उक्त पत्रको जवाफमा प्रचण्डले ओलीलाई पत्र लेखेको समेत उनले जानकारी दिए ।

नेकपा सचिवालय बैठक मंसिर ३ गते दिउँसो १ बजे पुनः बस्ने गरी आजको बैठक स्थिगित गरिएको उनले बताए ।

प्रधानमन्त्री एवं पहिलो वरियताका अध्यक्ष ओलीले पार्टीको बैठक राख्न ढिलाइ गरेको गुनासो कार्यकारी अध्यक्ष दाहालसहितका नेताले लिखितरुपमा गरेपछि अध्यक्षद्वयको परामर्शमा आज बैठक भएको हो । बैठकमार्फत छलफल र संवाद शुरु भएकाले पार्टीमा तत्काल विभाजन आउन सक्ने भन्ने खतरा टरेको छ । नेकपाको सचिवालय बैठक यसअघि गत असोज २१ गते बसेको थियो ।

आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकको कार्यादेश बमोजिम सरकार र पार्टीका कामलाई प्रभावकारीरुपमा सञ्चालन गर्ने सङ्कल्प गरिए पनि नेकपामा पुनः विवाद बल्झिएको हो ।

गत असोज ४ गतेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको थियो । सोही बैठकले एकताका बाँकी कामलाई पूर्णता दिन अध्यक्ष ओली र अध्यक्ष दाहालले १० दिनभित्र गृहकार्य गरी सचिवालयमा पेश गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

गत स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको थियो । सो स्थायी कमिटीको बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टी काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो ।

नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि आगामी कात्र्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक तय गरेकामा आगामी मङ्सिर १५ गतेका लागि केन्द्रीय कमिटीको बैठक सारिएको छ ।