काठमाडौँ – निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वर्तमान अध्यक्ष भवानी राणा, भावी अध्यक्ष शेखर गोल्छासहित पूर्वअध्यक्षहरुले किशोर प्रधानलाई भोट दिने घोषणा गरेका छन् । राणा र गोल्छासहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्षहरु कुसकुमार जोशी, बिनोद बहादुर श्रेष्ठ, , प्रदिपकुमार श्रेष्ठ, महेशलाल प्रधान र पद्म ज्योतिले प्रधानले प्रधानको पक्षमा मत जाहेर गर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


यस्तै उद्योगी व्यवसायीहरु रविभक्त श्रेष्ठ, सुरज बैध, आनन्दराज मुल्मीले पनि शेखर गोल्छाअन्तर्गत रहेर प्रधान प्यानललाई सहयोग गर्ने बताएका छन् । सोमवार राणाले प्रधान र चन्द्र ढकाल दुबै पक्षसँग छलफल गरी सहमतिका लागि प्रयास गरेपनि सहमति जुट्न सकेको थिएन । शुरुदेखि नै प्रधान पक्षलाई साथ दिइरहेका राणा, गोल्छासहित पूर्वअध्यक्षहरुले ढकाललाई उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए । यद्यपि, ढकालले वरिष्ठ उपाध्यक्ष पद आफूले नछाड्ने र प्रधानले छाडेमा अन्यमा सहमति हुन सक्ने अडान राखेका थिए । ढकालको वरिष्ठ उपाध्यक्ष पद नछाड्ने अडानपछि अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पूर्वअध्यक्षहरुले प्रधानलाई साथ दिने घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


महासंघको ५४ औँ साधारण सभा मंसिर ११/१२ मा र १३ मा नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने महासंघको विधानअनुसार अध्यक्ष राणाले अबको नेतृत्व गोल्छालाई सुम्पिदैछिन् । पटक पटक सहमतिको प्रयास गरिएपनि सहमति जुट्न नसक्दा वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान आफ्नो प्यानलसहित चुनावी संग्राममा उत्रिएका छन् । ढकालको प्यानलमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र संघाई र जिल्लानगरतर्फ गुणनिधि तिवारी चुनावी मैदानमा छन् भने प्रधान प्यानलमा वस्तुगततर्फ अञ्जन श्रेष्ठ, एशोसिएटर्फ शौरभ ज्योति र जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् ।

महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १०७, वस्तुगततर्फ १०१, द्धिराष्ट्रिय उद्योग वाणिज्य संघतर्फ १२ र एशोसिएटतर्फ ९२३ गरी कूल १ हजार १४३ मतदाता रहेका छन् ।