निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावका लागि पर्यटन व्यवसायी रामशरण थपलियाले चन्द्रप्रसाद ढकाल समूहबाट एशोसिएट्स कार्यकारी समिति सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा यसको तयारी, चुनावी एजेण्डा र भविष्यका योजनालगायतका विषयमा उम्मेदवार थपलियासँग हिमालय पोष्टले कुराकानी गरेको छ ।


ADVERTISEMENT


चुनाव आउन केही दिन मात्रै बाँकी छन् । दोस्रो कार्यकालका लागि एसोसिएट तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दिनुभएको छ । तयारी कस्तो भइरहेको छ ?


ADVERTISEMENT

# # #


हाम्रो तयारी व्यापक रुपमा भइरहेको छ । हाम्रो चन्द्रप्रसाद ढकाल समूह हो । उहाँ आफैमा एक सानो तहबाट व्यवसायदेखि सुरु गरेर अहिले एक-डेढ सय कम्पनी सञ्चालन गरिरहनु भएको छ । यो पटक हामीले हाम्रो समूहमा आधा हिजोका बहालवालाहरु, जोसँग अनुभव छ र आधा नयाँ उम्मेदवारहरु साथमा लिएका छौँ ।

तपाईंको समूहका चुनावी एजेण्डाहरु के-के हुन् ? 

हामीले ‘समृद्धिको आधार, राज्य–निजी साझेदार’ भन्ने नारा अघि सारेका छौँ । हाम्रो साझेदारी सरकारसँग हुन्छ । हामी कोहीसँग लड्ने भिड्ने भन्दा पनि अहिलेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालका हरेक व्यवसायिक क्षेत्रहरु नाजुक स्थितिमा छन् । यस्तो अवस्था कहिलेसम्म जाने हो, थाहा छैन । त्यो हिसाबले व्यवसायलाई पुनर्जीवन दिनका लागि हाम्रो टिमको जित हुन जरुरी छ । व्यवसायलाई हिजोकै अवस्थामा ल्याउने हाम्रो योजना हो । जिल्ला, नगर, एशोसिएट्स, वस्तुगत जुनसुकै क्षेत्रका समस्याहरु छन्, तिनलाई सम्बोधन गर्ने हाम्रो योजना छ ।

तपाईं यसअघि पनि एसोसिएट तर्फको केन्द्रिय सदस्य बनिसक्नु भएको छ । फेरि दोस्रो कार्यकालका लागि उठ्नु भएको छ । पहिले के गर्नु भयो र अब के गर्नुहुन्छ ?

पर्यटन क्षेत्रमा मैँले झण्डै २७ वर्ष काम गरिसकेको व्यक्ति हुँ । यो हिसाबले मैँले पर्यटन क्षेत्रका एजेण्डाहरु स्थापित गर्नका लागि विगतमा धेरै कामहरु गरेँ । नेपाल उद्योग वाणिज्य संघको पर्यटन प्रवर्द्धन समितिको सह–सभापति रहेर नेपालका सबै जिल्लामा थुप्रै कार्यक्रमहरु गरेका थियौँ । हाम्रा धेरै कार्यक्रमहरु ‘भ्रमण वर्ष २०२०’ सँग सम्बन्धित थिए । तर, कोभिड–१९ ले गर्दा ती कार्यक्रमका उद्देश्य पूरा हुन सकेनन् । नयाँ पर्यटकीय गन्तव्यको खोजी होस् या मेला महोत्सवको प्रवर्द्धनका लागि होस्, प्रदेश कमिटिहरुमार्फत थुप्रै कामहरु गर्‍यौँ ।

कानुनको विद्यार्थी पनि भएको नाताले व्यवसायिक समस्या समाधानका लागि आफू नै सभापति रहेर मेलमिलाप फोरम भन्ने कमिटि बनाएको छु । उक्त फोरमले व्यवसायिक थुप्रै समस्याहरु समाधान गर्ने, मुद्दाका अदालतमा जानुअघि र गइसकेपछिका समस्या समाधान गर्न हामी सफल भयौँ । हामीले अन्य थुप्रै कामहरु गर्न बाँकी छ । मैँले महासंघलाई केही योगदान गरिसकेँ र गर्ने विकासका कुराहरु, प्रवर्द्धनका कुराहरु छन् । यी कुराहरुलाई मजबुद बनाउनका लागि मेरो उम्मेदवारी हो ।

तपाईंले पर्यटनका क्षेत्रमा नेतृत्व गरिसक्नु भएको छ । कोभिड–१९ का कारण पर्यटन व्यवसाय ध्वस्त नै बनेको छ । महासंघमा गइसकेपछि यसको उत्थानका लागि तपाईंको भूमिका के हुन्छ ?

पहिलो कुरा त राज्य यसमा लचिलो हुनुपर्‍यो । संस्थालाई, व्यवसायलाई पुनरावृत्ति गर्ने काम हाम्रो हुन्छ । अहिले सरकारले ५० अर्बको प्याकेज ल्याएको छ । यसले केही समयका लागि व्यवसाय बचाउनका लागि मदत पुर्‍याउँछ । त्यस्तै हामीले नयाँ लगानी पनि गर्नुपर्छ भनेका छौँ । त्यसका लागि निश्चित अवधिका लागि २ प्रतिशत ब्याज दिएर पूर्वाधार निर्माण गर्नु जरुरी छ । महासंघले पहल गर्ने पनि यही हो । अहिले घरभाडाका समस्याहरु छन् । व्यवसाय चलायमान भएपछि यो समाधान हुनसक्छ ।

आज विदेशीले नेपाल आउनका लागि ‘अराइभल भिसा’को अनुमति पाउँदैनन् । सरकारले त्यो खोल्ने बाटो तय गरेको छ । हाम्रो अहिलेको माग के हो भने विदेशी पर्यटकलाई क्वारेन्टिन राख्ने सम्बन्धमा छ । एक हप्ता क्वारेन्टिनमा बस्नेगरी विदेशी पर्यटकहरु आउँछन् ? केही संख्यामा विदेशी पर्यटक आउन सुरु भएको छ । सरकार लचिलो नहुने हो भने यो पनि घट्नसक्छ । अहिले हाम्रो ग्राउन्ट ह्याण्डलिङ फ्यूल शुल्क उच्च छ । त्यो कम गर्न आवश्यक छ । यिनै कुराहरुको सम्बोधनका लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत म पहल गर्छु । यो चुनौतिपूर्ण पनि छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाहरुसँग कसरी समन्वय गर्नुहुन्छ ?

उहाँहरु सबै हामीकहाँ (नेपाल उद्योग वाणिज्य महासंघ) मा सदस्य हुनुहुन्न । तर, केही संस्थाहरु टान, नाटा, रेवान आवद्ध हुनुहुन्छ । हामीले थप संस्थालाई पनि सदस्य बनाउने योजना बनाएका छौँ । अहिले पनि नेपाल वाणिज्य महासंघको जुनसुकै अन्तक्रिया होस् या अन्य कार्यक्रममा पर्यटनसँग सम्बन्धित संस्थाहरुलाई बोलाएर उहाँहरुका सुझावहरु लिइराखेका छौँ । पर्यटन व्यवसायीको वास्तविक समस्या के हो हामी त्यहाँबाट बुझ्न सक्छौँ । भविष्यमा पनि थप सहाकार्य गर्दै अघि बढ्छौँ ।

अन्त्यमा, आफ्ना प्रतिस्पर्धीहरुलाई कसरी हेर्नु भएको छ ? निर्वाचनमा तपाईंको समूहको जित्ने आधार के हो ?

हाम्रो भन्दा पनि राम्रो टिम, जसले मिसन र भिजनका साथ अघि बढेको छ, त्यो टिम भनेको चन्द्रप्रसाद ढकालको टिम हो । उहाँ आफै पनि म व्यवसायिक ढंगले अघि बढ्छु भन्नु भएको छ । कुनै राजनीतिक हिसाबबाट उहाँ आउन खोज्नु भएको होइन । हामीले कसैलाई पनि प्रतिस्पर्धीका रुपमा हेरेका छैनौँ । म कसैलाई गाली पनि गर्न चाहन्नँ । एउटा स्पष्ट एजेण्डा लिएर आएको व्यक्ति निर्वाचित हुनुपर्छ । निर्वाचनको परिणाम आएपछि हामी एउटा सौहार्दपूर्ण वातावरणमा अघि बढ्छौँ । त्यसकारण तपाईंको सञ्चारमाध्याम मार्फत म सम्पूर्ण व्यवसायीहरुलाई चन्द्रप्रसाद ढकाल समूहलाई जिताउन हार्दिक अनुरोध गर्दछु ।