काठमाडौँ – देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो ।


ADVERTISEMENT


गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैँका कारणले एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेले बताए। यसअघि कोरोना भाइरसका कारणले वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते गरिएको थियो ।


ADVERTISEMENT

# # #


मुलुकका ७५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको हो । सरकारले विसं २०५० देख कुपोषणबाट बचाउन र भिटामिन ‘ए’ बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो । भिटामिन ‘ए’ सँगै जुकाको औषधि (अल्वेण्डाजोल) र बालभिटा खुवाइन्छ । करीब ५२ हजार स्वयंसेविका कार्यक्रममा संलग्न छन् ।

एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाबाट बचाउन औषधि खुवाइन्छ । उनका अनुसार यस पटक जुकाको औषधि २४ लाख ८ हजार ३३० बालबालिकालाई खुवाउन थालिएको हो । सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६/६७ देखि बालभिटा खुवाउन थालिएको हो ।

यस्तै आज र भोलि नै बालभिटा लागू भएका ४६ जिल्लामा पनि क्याप्सुल खुवाउन थालिएको छ । रक्तअल्पता हुनबाट जोगाउनका लागि बालभिटा खुवाउने गरिन्छ । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइन्छ । हरेक वर्ष सरकारले निःशुल्करूपमा भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत जुकाको औषधि र बालभिटा खुवाउँदै आएको छ ।