काठमाडौँ – कोरोना महाममारीपछि पहिलो पटक मैदान उत्रिएको भारतीय क्रिकेट टिमलाई घरेलु टोली अष्ट्रेलियाले पहिलो एकदिवसीय खेलमा ३७५ रनको विशाल लक्ष्य दिएको छ ।


ADVERTISEMENT


अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको हो । कप्तान आरोन फिन्च र पूर्वकप्तान स्टिभ स्मिथको शतकमा अष्ट्रेलियाले भारतसामू विशाल लक्ष्य प्रस्तुत गरेको हो ।


ADVERTISEMENT

# # #


अष्ट्रेलियाका लागि कप्तान फिन्चले डेभिड वार्नरसँग मिलेर उत्कृष्ट सुरुवात दिलाए । पहिलो विकेटका रुपमा व्यक्तिगत ६९ रन बनाएर आउट हुनुअघि वार्नरले फिन्चसँग १५६ रनको साझेदारी गरे । वार्नरले ७६ बलमा ६ चौका प्रहार गरे ।

त्यसपछि फिन्चले स्टिभ स्मिथसँग अर्को १०८ रनको साझेदारी गरे । एकदिवसीयमा १७ औँ शतक प्रहार गरेका फिन्चले १२४ बलमा ९ चौका र २ छक्का प्रहार गरे । यस्तै स्मिथले ६६ बलमा नै शतक पूरा गरे । त्यसक्रममा उनले ११ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै ग्लेन म्याक्सवेलले १९ बलमा नै ४५ रन बनाएर आक्रामक खेल देखाए । त्यसक्रममा उनले ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै अलेक्स केरी १७ रनमा नटआउट रहे ।

भारतका लागि मोहम्मद शमीले ३ विकेट लिए भने जस्प्रित बुम्राह, नभदीप सैनी र युजेन्द्र चहालले समान १–१ विकेट हात पारे ।

भारतले जवाफी ब्याटिङ गरिरहेको छ । भारत र अष्ट्रेलियाबीच ३ वटा एकदिवसीय खेल हुँदैछन् । मैदानमा ५० प्रतिशत दर्शक राखेर खेल खेलाइएको छ ।