धनुषा – प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवम् ट्रमा सेन्टर निर्माणका छनोट गरिएको जग्गाको स्थलगत निरीक्षण गरेका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा सङ्घ सरकारसमेत सहयोग गर्ने भएपछि मुख्यमन्त्री राउतसहितको टोलीले आज दुवै अस्पतालको लागि जग्गाको निरीक्षण गरेका छन् ।


ADVERTISEMENT


बाराको कलैया उपमहानगरपालिका–१६ झिटकैयामा ५० शय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने नीति अनुरुप जग्गाको निरीक्षण सम्पन्न भएको छ । सरुवा रोग अस्पतालका लागि कलैया उपमहानगरले सात बिघा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ भने पथलैयास्थित स्वास्थ्य तालिम केन्द्र प्रदेश सरकार कै मातहतमा छ ।


ADVERTISEMENT

# # #


जग्गा निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माणलाई आफ्नो नीति तथा कार्यक्रममै राखेर बजेटसमेत विनियोजन गरिसकेको अवस्थामा सङ्घ सरकारसमेतले सहयोग गर्ने भएपछि दुवै अस्पतालको निर्माण चाँडै शुरु हुने बताए । उनले दुवै अस्पताल प्रदेशको गौरवको योजनाका रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश नै लाभान्वित हुने बताए ।

निरीक्षण टोलीमा मुख्यमन्त्रीसहित सङ्घीय सांसद रामसहायप्रसाद यादव, रामबाबु यादव, प्रदेशसभा सदस्य पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिवलगायतको सहभागिता थियो । सरुवा रोग अस्पतालको शिलान्यास यही मङ्सिर १५ गते भर्चुअल माध्यमले हुने भएको छ । रासस