– शालिकराम आचार्य, प्रमुख, मालपोत कार्यालय, ललितपुर

प्रमुखका रुपमा कस्तो पाउनुभयो ललितपुर मालपोतको अवस्था ? कामहरु कसरी अघि बढेका छन् ? 


ADVERTISEMENT


मालपोत जनसम्पर्क हुने अड्डा भएकाले भिडभाड त हुने नै भयो । उपत्यकाको ललितपुर जिल्ला भइसकेपछि यहाँ भिडभाड अझ बाक्लो रहेछ । म यहाँ आइसकेपछि सेवाग्राहीहरुलाई लाइनमा बसाएर व्यवस्थित ढंगले छिटो छरितो र सुविधासम्पन्न रुपले सेवा दिऊँ भन्ने चाहना मेरो थियो । तर संरचनाका कारण त्यसमा केही कठिनाइहरु छन् । तत्काल भवन बनाएर व्यवस्थित गर्ने अवस्था पनि नरहेकाले भएको संरचनाबाट काम गर्दा चाहे जति व्यवस्थापन गर्न नसकेपनि सकेसम्म व्यवस्थित बनाउने प्रयत्न गरिरहेका छौँ । व्यवस्थित बनाउने प्रयत्न गर्दागर्दै पनि केही भिडभाड हुने गरेको छ । तर सकभर हामीले यसलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ ।  काम गरेर ३ दिनभित्र पूर्जा दिलाउने बन्दोबस्त मिलाएका छौँ ।


ADVERTISEMENT

# # #


यहाँ आइसकेपछि के कस्ता समस्याहरु पाउनुभयो ?

यहाँको प्रमुख समस्या भनेको एकद्धार सिस्टमबाट सेवा दिन नसकिने अवस्था रहेछ । अर्को, अहिले कोरोनाको कारण संक्रमणको जोखिम उच्च भएपनि नागरिक आफै सचेत भएर लाइन लागेर बस्ने गरेको देखिएन । नागरिक आफै पनि सचेत हुने पर्ने हो । सरकारले सचेत गराएको छ । सचेततासम्बन्धी सूचनाहरु पनि सबैतर्फ सार्वजनिक भएका छन् । उहाँहरुको पनि आफ्नो बाध्यता होला । तर हामीले जतिसक्दो चाँडो रोलक्रममा काम गरिरहेका छौँ । यो जानकारी पनि गराइरहेका छौँ । तर पनि भिडभाड र ठेलमठेल हुने गरेको छ ।

नागरिकहरुले दुःख नपाइ सहज सेवा पाइरहेका छन् त ?

हामीले करिब उसै दिन काम गर्ने प्रयास गरेका छौँ । जनशक्ति कम छ, त्यसमाथि केही कर्मचारीहरु कोरोनाका कारण बिदामा बस्नुपर्ने बाध्यता पनि छ । भिड बढेको तर जनशक्ति कम भएकाले सामान्य अवस्थामा भन्दा काममा केही ढिलाइ हुनु स्वभाविक हो । तर हामीले सकेसम्म चाँडो र सहज तरिकाले काम गरिरहेका छौँ ।

मालपोत कार्यालयमा विकृतिहरु छन् भनिन्छ । ‘पैसा बिना काम हुँदैन, काम अड्काइन्छ’ भन्ने गम्भिर आरोप छ नि ?

विभिन्न ठाउँमा यस्ता घटनाहरु घटेका कारण पनि शंका गर्नु स्वभाविक हो । तर यस्तो अवस्था छैन । मैले निर्देशन दिएको छु, यस्ता विकृतिहरुलाई म पूर्ण रुपमा निस्तेज पार्ने गरी काम गरिरहेको छु ।

तपाईँको नेतृत्वमा नागरिकले त्यस्ता समस्याहरु भोगेका छैनन् त ?

अरु बाहिरका जोकोहीले काम गर्दिन्छु भनेको भरमा पैसा लिए दिएको हामीलाई थाहा हुने कुरा भएन । र त्यसरी कसैले पैसा लिए दिएको छ भने पनि त्यो गलत हो, हुनुहुँदैन । हामी रोलक्रमअनुसार काम गरिरहेका छौँ । त्यस्ता विकृतिहरुलाई पूर्ण रुपमा रोक्ने प्रयास गरेका छौं । कागजातमा समस्या नभएका कानूनसम्बत आएका सबै काम भइरहेको छ । आएका कागजातमा समस्या छैन भने काम नहुने भन्ने नै हुँदैन, सेवाग्राहीहरुलाई झन्झटबिना सेवा दिन कर्मचारीहरुलाई मैले निर्देशन गरेको छु ।

जनताले काम लिएर आउँदा त्यस्तो बार्गेनिङ गरिएको, काम रोकिएको भेटियो भने के गर्नुहुन्छ ?

त्यस्तो यदि प्रमाणसहित भेटियो भने कारवाही हुन्छ । निजामती संघ र भ्रष्टाचारसँग सम्बन्धित अख्तियारले गर्ने कारवाही त छँदैछ हामी आफ्नोबाट गर्न मिल्ने विभागीय कारवाही गर्छौँ । कहीँ कतै जनतालाई दुख दिएर गैरकानूनी रुपमा गतिबिधी भएको रहेछ भने म छोड्ने छैन, कसैले त्यस्तो देखे भेटे पनि मलाई सिधै खबर गर्नुहोला जो कोहीलाई तत्काल दण्ड कारबाही गरिनेछ ।

अन्तिममा के भन्नुहुन्छ ?

कोरोना संक्रमणको जोखिम रहेकाले कर्मचारी र सेवाग्राहीहरु सबै जोगिन आवश्यक छ । जोगिएर काम गर्न सबैलाई आह्वान गर्छु । सेवाग्राहीहरु पनि क्रमवद्ध रुपमा भौतिक दूरी कायम गरेर आइदिए हुन्थ्यो । कर्मचारीहरुलाई नआत्तिकन सेवाग्राहीलाई मुस्कानसहित सेवा दिन आग्रह गर्दछु।