काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।


ADVERTISEMENT


अध्यक्ष थापाले भने, “राजा आऊ देश बचाऊ होइन, जनता आऊ, राजा ल्याऊ देश बचाऔँ भनौं भन्नुपर्यो ।” उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे ।


ADVERTISEMENT

# # #


राजस्था र हिन्दु राष्ट्र राजनीतिक स्वार्थ नभएर देशको अस्तित्व, पहिचान र सार्वभौमिकतासँग जोडिएको विषय भएको दाबी गरे । त्यस्तै चुनाव चिन्ह हलो भएकोमा दुख मनाउ गर्नुपर्ने अवस्था नभएको भन्दै हलोको सामाजिक सांस्कृतिक महत्वबारे चर्चा गरे ।

त्यस्तै, पछिल्लो समय हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै भइरहेको आन्दोलनमा आफ्नो सहयोग र समर्थन रहने बताए । उनले यो आन्दोलनलाई देशका राजनीतिक शक्तिहरु र विदेशीहरुले पनि हेरिरहेको बताउँदै हिन्दुराष्ट्र र राजसंस्थाको मुल संवाहक राप्रपा भएको अध्यक्ष थापाले दाबी गरे ।

यसरी महामारीका बिच नै आन्दोलन सुरु हुनुका तीन कारण उनले औंल्याए । जसमा उनले हिन्दुराष्ट्र र राजा बाहिरी शक्तिका कारण हटाइएको, जनताले गणतन्त्रको सकारात्मक परिवर्तन महसुस नगरेको र पूर्वाराजाको सालिन र सकारात्मक जीवनशैली रहेको दाबी गरे ।

त्यस्तै, अर्का अध्यक्ष पशुपति शमशेर जबराले ‘सरकारले सिन्को पनि नभाँचेको’ आरोप लगाए । कार्यक्रममा अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाएका छन् । अध्यक्ष लोहनीले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदै देशमा संवैधानिक राजतन्त्रको आवश्यकता रहेको औल्याए ।

त्यस्तै, पूर्व प्रधानमन्त्री समेत रहेका नेता लोकेन्द्रबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताए । तीनैजना अध्यक्षले पार्टीको अधिवेसन गर्नुपर्नेमा जोड दिएका थिए ।