काठमाडौं – नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदीको आयात तथा बिक्री–वितरणसम्बन्धी कार्यविधिको कार्यान्वयनका क्रममा वाणिज्य बैंक तथा सुनचाँदी व्यवसायीहरूले सामना गरिरहेका व्यावहारिक कठिनाइ, समस्या तथा चुनौतीबारे छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा “सुनचाँदी आयात तथा बिक्री–वितरणको कार्यान्वयनसम्बन्धी बैंक–व्यवसायी अन्तरक्रिया कार्यक्रम” आज मिति २०८३ असोज १३ गते, महासंघको सचिवालय कार्यालय परिसर, वोगेनभिल्लामा सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका प्रतिनिधि, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत, महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, आबद्ध सदस्य संघका अध्यक्ष तथा प्रतिनिधिहरू, एशोसिएट सदस्य, सल्लाहकार तथा विज्ञहरू तथा सुन आयात गर्ने वाणिज्य बैंकका सम्बन्धित विभागीय प्रमुखहरूको सहभागिता रहेको सो कार्यक्रमको सञ्चालन महासंघका सचिव केशरबहादुर विश्वकर्माले गर्दै कार्यक्रमको उद्देश्य तथा अन्तरक्रियाको महत्वबारे संक्षिप्त जानकारीसहित सहभागीहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्दा अपनाउनुपर्ने प्रक्रिया, आवश्यक कागजात तथा भुक्तानी व्यवस्था, बैंकबाट सुन खरीदका क्रममा देखिएका व्यावहारिक कठिनाइ, बैंकमार्फत सुन खरिदको व्यवस्था अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको अवस्था, ग्राहकबाट अत्याधिक रुपमा गहना फिर्ता आउने गरेको तथा भन्सार दर र सुनको मूल्यमा हुने उतार–चढावका कारण बजार कारोबार र उपभोगमा परेको प्रभाव लगायतका विषय उठाएका थिए ।
बैंकका प्रतिनिधिहरूले सुन बिक्री–वितरणसम्बन्धी नियामकीय प्रक्रिया, सुनको मूल्य व्यवस्थापन, आवश्यक कागजात, भुक्तानी तथा अभिलेखीकरणलगायतका विषयमा स्पष्ट पारेका थिए । साथै, बैंक र व्यवसायीबीचको समन्वयलाई थप प्रभावकारी बनाई कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रमका विशेष अतिथि रुपमा उपस्थित नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभाग, नीति इकाईका उपनिर्देशक यज्ञ श्रेष्ठले कार्यविधिको विद्यमान व्यवस्थाबारे जानकारी दिँदै कार्यान्वयनका क्रममा देखिएका समस्या, कार्यक्रममा उठान भएका विषयवस्तु तथा प्राप्त सुझावलाई सम्बन्धित निकायसमक्ष समन्वयात्मक रूपमा उठान गर्न पहल गर्ने धारणा व्यक्त गरे । त्यसैगरी, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले अन्तरक्रियाबाट प्राप्त सुझाव तथा व्यवसायीहरुले उठाएका समस्याहरुलाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने साथै आवश्यक सुधारका लागि महासंघ, बैंक तथा नियामक निकायबीच सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सल्लाहकार वद्री प्रसाद कोइरालाज्यूले सुनचाँदीको आयात तथा बिक्री–वितरण प्रणालीलाई समयानुकूल संशोधन गरी सरल, पारदर्शी, व्यवस्थित तथा व्यवसायमैत्री बनाउन बैंक, व्यवसायी तथा नियामक निकायबीच नियमित संवाद, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिइयो । अन्तरक्रियाको निष्कर्षमा पछिल्लो समय सुनचाँदी बजारमा देखिएको सुस्ततालाई संबोधन गर्दै बजारदलाई चलायमान बनाउन सुन तथा चाँदीमा लाग्दै आएको भन्सार महसुल तथा अन्य करका दरलाई छिमेकी राष्ट्रहरूको व्यवस्थासँग तुलनात्मक रूपमा प्रतिस्पर्धी र व्यवसायमैत्री हुने गरी यथासम्भव न्यून कायम गर्न नेपाल सरकारसमक्ष पुनः आवश्यक पहल तथा पैरवी गर्ने विषयमा विशेष जोड दिइयो । 