काठमाडौं – अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज दिउँसो गृहमन्त्री सुदन गुरुङसँग भेटवार्ता गरेकी छिन् ।

भेटमा विपद् प्रतिकार्यमा नेपाल–अमेरिका सहकार्य तथा गत अगस्टमा आएको विनाशकारी बाढीमा बेपत्ता अमेरिकी र नेपाली नागरिकको पहिचान गर्ने विषयमा भइरहेका प्रयासबारे छलफल भएको छ।

अमेरिकाले बाढी प्रभावित नेपालका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ। साथै, नेपाली सुरक्षाकर्मी तथा पहिलो उद्धारकर्तालाई आवश्यक उपकरण, प्रविधि र विशेषज्ञ सहयोगसमेत उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ।

अमेरिकी दूतावासका अनुसार विपद्पछिको पुनःस्थापना र प्रभावित समुदायको पुनःउत्थानमा नेपाल–अमेरिका साझेदारीले महत्वपूर्ण सहयोग पुर्याइरहेको छ।