काठमाडौँ – चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममो नमूना खेल मैदानमा जारी गौतम बुद्ध कपमा टिम राप्तीले लगातार दोस्रो जित हात पारेको छ । युवा खेलाडी कुशल भुर्तेलको शानदार प्रदर्शनमा राप्तीले सोमबार नारायणीलाई १ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


टस जितेर ब्याटिङ थालेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनायो । राप्तीले १९.५ ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको लक्ष्य पूरा गरेको हो । राप्तीका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका उनले ४१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै अन्य ब्याट्सम्यानले रन जोड्न नसकिरहेका बेला आठौँ नम्बरमा आएका कमलसिंह ऐरीले १५ बलमा २४ रनको आक्रामक खेल देखाउँदै राप्तीलाई जित दिलाए । राप्तीका लागि आशिफ शेख १४ र सुमित महर्जनले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

नारायणीका लागि कप्तान करण केसीले उत्कृष्ट बलिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ४ ओभरमा १ मेडेन राख्दै ३ विकेट लिए । यस्तै किशोर महतो र सुसन भारीका नाममा समान २–२ विकेट रह्यो भने दीपेश श्रेष्ठ र साहब आलमले १–१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि नारायणकीको माथिल्लोक्रमको ब्याटिङ पंक्ति रन जोड्न असफल रहेको थियो । तर, आठौँ नम्बरमा आएका कप्तान करण केसी र नवौँ नम्बरमा आएका किशोर महतोले आठौँ विकेटका लागि आक्रामक ५९ रनको साझेदारी गरेपछि टिमले सम्मानजनक स्कोर बनाउन सफल भयो । त्यसक्रममा किशोरले १४ बलमा २ चौका र ४ छक्काको मदतमा नटआउट ३६ तथा करणले २२ बलमा १ चौका र ३ छक्काको मदतमा ३२ रन जोडे ।

यस्तै सुसन भारी १८, रित गौतम १३ र इशान पाण्डे १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । राप्तीका लागि अभिनास बोहरा र सूर्य तामाङले समान २–२ विकेट लिए भने जितेन्द्र मुखिया, कमल सिंह ऐरी र भुवन कार्कीका नाममा १–१ विकेट रह्यो ।

खेलका म्यान अफ दि म्याच कुशल भुर्तेल चुनिए ।

तीन टोली सहभागी प्रतियोगितामा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिम बाग्मति लगातार दुई खेलमा पराजित भएपछि बाहिरिसकेको छ । प्रतियोगिताको फाइनल भोलि यिनै टोली राप्ती र नारायणीबीच हुनेछ ।