खोटाङ – ऐँसेलुखर्क गाउँपालिकाले विद्यालयको कक्षाकोठालाई धुलोरहित बनाउने तयारी गरेको छ । गाउँपालिकाले ढुङ्गामाटोबाट बनाइएका विद्यालयका कक्षाकोठालाई प्लाष्टर गर्दै धुलोरहित बनाउने तयारी गरेको हो ।


ADVERTISEMENT


चालु आर्थिक वर्षभित्र सबै ४३ सामुदायिक विद्यालयका कच्ची भवनका कक्षाकोठालाई धुलोमुक्त बनाउने गरी काम अघि बढाइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । “गाउँपालिकामा २७ प्रावि, आठ आधारभूत र आठवटा मावि छन्”, उनले भने, “पठनपाठनका क्रममा छात्र-छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयका कक्षालाई धुलोरहित बनाउने अभियान चलाइएको हो ।”


ADVERTISEMENT

# # #


कक्षाकोठालाई धुलोमुक्त बनाउन गाउँपालिकाले मङ्सिर २१ गते सामुदायिक विद्यालयलाई प्रस्ताव आह्वान गरेको थियो । कक्षाकोठालाई धुलोमुक्त बनाउन भुइँमा र भित्तामा प्लाष्टर गरिने गाउँपालिकाले जनाएको छ । कक्षाकोठा प्लाष्टर गर्नका लागि लाग्ने अनुमानित रकम माग गरेका आधारमा आर्थिक सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गत वर्ष केही विद्यालयको कक्षा धुलोरहित बनाइएकामा चालु आर्थिक वर्ष सबै कक्षालाई धुलोरहित बनाउने अभियान थालिएको गाउँपालिका प्रमुख निरौलाले बताए। चालु आव ३२ विद्यालयको धुलाम्मे कक्षामा प्लाष्टर गर्ने÷गराउने तयारी भइरहेको जनाइएको छ । यसका लागि विद्यालयलाई आगामी पुस ५ गतेभित्र प्रस्ताव पेश गर्न भनिएको गाउँपालिकाले जनाएको छ ।

यसैबीच गाउँपालिकाले सबै माविमा इ–लाइब्रेरीको व्यवस्था गर्ने भएको छ । पुस्तकलाई व्यवस्थापन गर्न असहज भएको सन्दर्भमा गाउँपालिकाले आठ माविमा तीन हजार २०० पुस्तक भएको एक-एक वटा इ–लाइब्रेरी स्थापना गर्न लागेको हो । इ–लाइब्रेरीमा विभिन्न कक्षाका पाठ्यपुस्तक, सन्दर्भ सामग्रीदेखि अन्य विभिन्न विषयका पुस्तक राखिने गाउँपालिका प्रमुख निरौलाले बताए। इ–लाइब्रेरी स्थापनाका लागि गाउँपालिकाले रु चार लाख ५० हजार रकम विनियोजन गरेको छ । रासस