झापा – मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् ।


ADVERTISEMENT


पूर्वी नाका काँकडभिट्टासमेत रहेको मेचीनगरका विभिन्न ठाउँमा राखिएका सिसी क्यामेरा बिग्रिएर काम नलाग्ने भएका हुन् । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका ठाउँमा राखिएका सिसी क्यामेरा मर्मत गर्ने वा नयाँ जडान गर्ने भरपर्दो प्रयास अहिलेसम्म हुनसकेको छैन् ।


ADVERTISEMENT

# # #


काँकडभिट्टा क्षेत्रमा दुई वर्षअघि स्थानीय तहसँगको साझेदारीमा २३ वटा सिसी क्यामेरा जडान गरिएका थियो । तीमध्ये अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

‘हङकङ मार्केट’को रुपमा परिचित धुलाबारी बजारको हालत पनि उस्तै छ । दुई वर्ष अघि नै धुलाबारी ट्राफिक प्रहरी बिटका हबल्दार योगेन्द्र थापाले आफ्नो तलब र स्थानीयवासीको स्वेच्छिक सहयोगमा मुख्यचोकमा चार वटा सिसी क्यामेरा जडान गरेका थिए । ती क्यामेरा अहिले बिग्रिएको अवस्थामा झुण्डिरहेको छ भने बिटमा राखिएको कन्ट्रोल रुममा थोत्रो टिभी स्क्रिन मात्र रहेको छ ।

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रवीन बस्नेतले थोत्रिएका सिसी क्यामेरामर्मत गर्नुभन्दा नयाँ सिसी क्यामेरा जडान गरिनुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीय सरकारसँगको साझेदारीमा नयाँ सिसी क्यामेरा किनेर जडान गर्ने योजना अघि बढाइएको बताए ।

अन्तरराष्ट्रिय नाकाका रुपमा रहेका मेचीनगरको काँकडभिट्टा र धुलाबारीमै सिसी क्यामेराको यो हालत हुनुले सुरक्षा जस्तो संवेदनशील विषयमा नयाँ प्रविधिको प्रयोगप्रति भइरहेको चरम बेवास्तालाई झल्काएको छ ।

सिसी क्यामेराको सहायताले सीमा क्षेत्रमा हुने तस्करी, आपराधिक व्यक्तिहरुको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्छ । काँकडभिट्टा नाकाबाट सुरक्षा निकायको आँखा छलेर मानव तस्करी र लागुऔषधको ओसारपसारसमेत हुँदै आएको छ । सिसी क्यामेरा जडानपछि त्यसको सञ्चालनका लागि आवश्यक पर्ने स्रोतको अभावमा मर्मत सम्भार हुन नसकेको हो । अर्कातिर समुदायले स्रोत जुटाएर जडान गरेका ती क्यामेराको सञ्चालनका लागि नगरपालिका र वडा कार्यालयले चासो दिएका छैनन् ।

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामेरा महत्वपूर्ण भएको हुँदा हाल समिति नै बनाएर मेचीनगर–१० को खयरडाँगीदेखि वडा नं ९ को खुट्टेडाँगीचोकसम्म ५० वटा क्यामेरा जडान गर्न रकम सङ्कलन गरिरहेको बताए । उनले चोकमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुभन्दा राम्रो क्वालिटीको क्यामेरा खरिद गरेर जडान गर्नेतर्फ समिति लागि परेको बताए ।

समितिले रु दुई लाख, मेचीनगर नगरपालिकाले रु पाँच लाख, वडा नं १० ले रु तीन लाख र मेची चेम्बर अफ कमर्सले रु ५० हजार क्यामेरा जडानका लागि उपलब्ध गराइसकेको छ । ‘‘यो नै पर्याप्त बजेट होइन’’, उनले भने, ‘‘५० वटा क्यामेरा खरिद र जडानका लागि रु २० लाख खर्च लाग्छ । स्थानीयवासी, व्यापारी र व्यवसायीसँग समन्वय गरेर काम गर्ने सोच छ । हामी सफल हुन्छौं ।’’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक पोखरेलले अपराध अनुसन्धानमा सिसी क्यामेरा प्रभावकारी प्रविधि भएको हुँदा चोकचोकमा जडानका लागि सबैले तदारुकता देखाउनुपर्ने बताए । केही दिनअघि मेचीनगरका उपप्रमुख मीना उप्रेती सवार गाडीमा आक्रमण गर्न खोज्नेलाई सो स्थानमा सिसी क्यामेरा नभएका कारण तत्काल पक्राउ गर्न नसकिएको उनले बताए ।

मेचीनगरका काँकडभिट्टादेखि चारआलीसम्म राजमार्ग क्षेत्रमा र बाहुनडाँगी बजार, भृकुटीलगायत नगरका विभिन्न ग्रामीण बजारमा सिसी क्यामेरा आवश्यक रहेको उनको भनाइ छ । ‘‘ क्यामेरा जडान गर्नु नै ठूलो कुरा होइन’’, उनले भने,‘‘जडानसँगै मर्मत सम्भारका लागि समेत स्रोत चाहिन्छ । त्यसको समेत जोहो हुनुपर्छ ।’’ रासस