बाग्लुङ– हालै निर्माण गरिएको लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक) मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । ५ सय ६६७ मिटर लामो झोलुङ्गे पुललाई विश्वकै लामो दावी गरिएको गर्दै पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । लामो भनिएको सो पुल बाग्लुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको छ । यसै माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि गिनिज बुकमा दर्ता गराउने प्रक्रिया थालिएको हो ।


ADVERTISEMENT


पुलको निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रियाको प्रयास गरेपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । यसअघि नेपालकै लामो झोलुङ्गे पुल (सिङ्गल स्पान) भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाले दावी गरेको छ । सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार, विश्वभरको तथ्याङ्क वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डको जम्मा ४ सय ९४ मिटर मात्रै लामो खुला प्रकृतिको झुलुङ्गे पुल लामो पुलको रुपमा दर्ता भएको छ । यसकारण पनि बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुङ्गे पुल हुनसक्ने उनको अनुमान रहेको छ ।


ADVERTISEMENT

# # #


यद्यपि विश्व रेकर्डमा हालसम्म यस्तो प्रकृतिको पुलको विवरणका विषयमा भने प्राविधिक जानकार छैनन् । विश्वमा पछिल्लो समय अन्य लामा झोलुङ्गे पुल थपिएका हुनसक्ने भए पनि यो भन्दा लामो पुल बनेको हालसम्म वेबसाइटहरुमा उल्लेख भएको छैन ।बागलुङ नगरपालिकालाई हस्तान्तरण भएर आइसकेपछि पुललाई विश्व रेडर्क कायम राख्ने प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख जनकाराज पौडेलले बताए । ‘माघ ३ गतेपछि बल्ल पुल हाम्रो स्वामित्वमा आयो । पुल हस्तान्तरण नहुँदासम्महामीले आधिकारिकता पाएका थिएनौ,’ उनले भने । यसका लागि प्रक्रिया अघि बढेको बताउँदै उनले अघि भने, ‘विश्व रेकर्ड कायम राख्नका लागि वेबसाइटमा प्राविधिकहरुको सहयोगमा निवेदन दिएका छौँ ।  तीन महिनादेखि छ महिनाभित्रै पुल हेर्न आउने जवाफसहित निवेदनको प्रतिकृया आइसकेको छ ।’

पौडेलका अनुसार निवेदनपश्चात विश्व रेकर्डको कार्यालयले छानविन गर्नेछ । यो विश्वकै लामो पुलको रुपमा ठहर भएमा विश्व रेकर्ड अर्थात् गिनिज बुकमा दर्ता हुने उनले बताए । झण्डै रु. १२ करोड लागतमा बनेको उक्त पुल १ सय ३८ मिटर अग्लो रहेको छ । पुल निर्माण शुरु भएको दुई वर्षपछि सकिएको थियो । रासस