देउखुरी – दाङका किसानले व्यावसायिक वरसिम घाँसखेतीाबट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका –६ का किसान पछिल्लो समयमा घाँसखेतीतिर आकर्षित भएका छन् । घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा वरसिम घाँस खेती गरिएको छ । ‘ग्रीन गोल्ड’ खेती जाडोको मौसममा पशुको दुग्ध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ ।


ADVERTISEMENT


घोराही –६ का श्रीधर अधिकारीले आफ्नो दुई बिघा खेतमा हिउँदका समयमा तोरी, मसुरो र गहुँको साटो वरसिम घाँस लगाउने गरेको बताए । उनले यसरी घाँस लगाउन थालेको चार वर्ष भयो । हरियो हुँदा काटेर गाईभैँसीलाई खुवाउन पनि हुन्छ । सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस हो । “व्यावसायिक रुपमा चार वटा गाई पालेको छु, त्यसका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ”, उनले भने । उनका अनुसार एक बिघा खेतबाट एक याममा रु एक लाख आम्दानी हुन्छ । उनले गत वर्ष वरसिम घाँसको बीउ गत वर्ष रु एक लाख पचास हजारमा बेचेका थिए ।


ADVERTISEMENT

# # #


घोराही– ६ का सीताराम चौधरीले पनि आफ्नो १८ कठ्ठा खेतमा ‘घाँसको राजा’ वरसिम लगाएका छन् । “घाँस खोज्न टाढाटाढा जङ्गलमा जानुपर्ने बाध्यता थियो, अहिले सजिलो भएको छ”, चौधरीले भने । हिउँदमा वरसिम घाँस एक पटक लगाएपछि एक याममा चारदेखि ६ पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उनको अनुभव छ । बीउ छरेपछि गोडमेल गर्न र स्याहार्न झञ्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । वर्षात्का समयमा लगाइएको धान काट्नुभन्दा अगाडि तोरी, मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् । घोराहीमा सबैले नजोतेरै छर्ने गरेका छन् । हरियो र सुकेको वरसीम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही –६ का कृषकले आठ कठ्ठादेखि साढे दुई बिघा जमीनमा खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो, गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ । वागवानीअन्तर्गत तरकारी, फलफूल, फूल र घाँस खेती पर्छन् ।

घोराही– ६ का गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँका किसानले वरसीम घाँसखेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिए । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउउँछन् । जोत्न नपर्ने, मल दिनु पनि नपर्ने, धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक पटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ ।

घाँसका लागि भौतारिनु नपर्ने खेतबारीबाट सजिलै पाउन सकिने भएपछि हरेक वर्ष यसका किसानको सङ्ख्या बढ्दै गएको शिवशक्ति उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार अहिले १२५ हेक्टरमा वरसिम घाँस खेती गरिएको छ । व्यावसायिक रुपमा वरसीम घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो । कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु दुई सयदेखि २५० सम्ममा बिक्री गर्ने गरिएके छ । प्रतिकठ्ठा ३० देखि ३५ केजी सम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । खासगरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको पाइन्छ । घाँस खेतीबाट गत वर्ष रु ५० लाख बराबरको बीउ सङ्घबाट बिक्री भएको सचिव अधिकारीले बताए । केही किसानले आफै बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफै बिक्री गरेको रकम जोड्दा धेरै हुने उनी बताउँछन् । यस वर्ष वरसिम घाँसको बीउ करीब रु ८० लाखको बिक्री हुने उनको अनुमान छ ।

वरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको दाङ जिल्लामा व्यावसायिकरुपमा उत्पादन भएको घाँसको बीउ मोरङ, सर्लाही, चितवन, नवलपरासी, रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिक्री हुने गरेको सचिव अधिकारीले बताए ।

साविक सौडियार गाविस हाल घोराही –६ मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँस खेती शुरु गरिएको हो । हिउँदे घाँस वरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा गाईँभैसीलाई खुवाउन र पोषणका लागि उत्तम मानिन्छ । यो घाँस गाई, भैँसी, बाख्रा र कुखुराले राम्रो मानेर खाने गरेका पाइन्छ । यसका हरियो र सुकेको डाँठ दुवै खुवाउन सकिन्छ । जिल्लामा गाई, भैँसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि अर्थोपार्जनका लागि केही किसानले घाँस मात्रै खेती गरेको पाइन्छ । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको प्रमुख केसीको भनाइ छ ।

अहिले दाङ वरसिम घाँसको बीउ पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरनिरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले जानकारी दिए । बीउका लागि दाङ उपयुक्त वातावरण भएको उनको पनि भनाइ छ ।

दाङमा तुलसीपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर, सौडियार, घोराही र नारायणपुर क्षेत्रमा व्यावसायिक घाँस खेती हुने गरेको छ । दाङमा नेपियर, मकैचरी, जै, भेजलगायत जातका घाँस खेती भए पनि हावापानी राम्रो भएकाले वरसिम फस्टाएको छ । पछिल्लो समयमा जिल्लाका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा वरसिम घाँसको बीउ वितरण गर्दै आएका छन् । बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । रासस