काठमान्डौ,
१०-असोज / नेपाली समाजमा एउटा श्रीमान्लाई छाडेर अर्काे व्यक्तिसँग विवाह गर्नुलाई ‘पोइल गएको’ भनिन्छ । त्यसैगरी राजनीतिमा पनि एउटा पार्टी छाडेर अर्काे पार्टीमा लाग्नुलाई ‘पोइल गएको’ भन्ने गरिन्छ ।


ADVERTISEMENT


हरेक वर्ष तिजका गीतमा ‘पोइल जाने’ विषय राखेर एल्बम निकाल्दै आएकी कोमल ओली अहिले राजनीतिक वृत्तमा चर्चामा छिन् । तीन वर्षअघि ‘पोइल जान पाम् शिव पोइल जान पाम्’ भन्ने बोलको तिज गीतका कारण विवादित बनेकी कोमल अब राप्रपालाई छाडेर एमालेसँग ‘पोइल जाने’ भएकी छिन् ।


ADVERTISEMENT

# # #


भनिन्छ, कलाकार राष्ट्रका गहना हुन् । यो भनाइ अब नेपालका सन्दर्भमा पुरानो हुँदै गएको आभाष हुन थालेको छ । केही कलाकारको सन्दर्भलाई लिएर सबैलाई एउटै टोकरीमा राख्न त मिल्दैन । तर, केही वर्षयताको ‘ट्रेन्ड’लाई हेर्दा नेपाली कलाकारहरू पार्टीका गहना बन्नमा अभ्यस्त देखिन्छन् ।
नेपालको सन्दर्भमा केही नौलो भए पनि अन्य देशहरूमा देखिएको अभ्यासलाई हेर्दा यो पहिलो प्रयोग भने होइन ।

बलिउडका कलाकारहरू रंगिन दुनियाँमा आफ्नो कलाबाट केही लोकप्रियता कमाएपछि राजनीतिमा प्रवेश गरेका थुपै्र उदाहरण भेटिन्छन् । राजनीतिक पार्टीमा प्रवेश गरेर नेता, सांसद, मन्त्री, मुख्यमन्त्री बनेका कलाकारहरूको भारतमा लामै लिस्ट बन्दछ । भारत मात्रै होइन, दक्षिण एसिया र विश्वभर नै कलाकारिताबाट राजनीतिमा प्रवेश गर्नेहरू बग्रेल्ती भेटिन्छन् ।

राजनीति यस्तो क्षेत्र हो, जहाँ जुनसुकै क्षेत्रबाट आएका व्यक्तिहरूले स्थान पाउँछन् । राजनीतिबाट कुनै पनि क्षेत्र पनि अछुतो रहन सक्दैन । समाजका हरेक क्षेत्रको नेतृत्व राजनीतिले नै गर्छ । त्यसैले कलाकारहरूको राजनीतिप्रतिको आकर्षणलाई अस्वाभाविक मान्न भने सकिँदैन ।

तर, नेपालको सन्दर्भमा अन्य क्षेत्रबाट राजनीतिमा लाग्नेहरू बुझेरभन्दा पनि रहरमा लागेको देखिन्छ । त्यसैले त एउटै व्यक्ति महिनैपिच्छे फरक–फरक पार्टीमा प्रवेश गरेका समाचारले प्राथमिकता पाइरहन्छन् । यदि उनीहरू सिद्धान्तका आधारमा पार्टीमा लागेका हुन्थे भने यस्तो पक्कै हुने थिएन ।

यसैबीच गायिका तथा समाचार वाचिकाका रूपमा परिचित कोमल ओली राप्रपाबाट एमालेमा प्रवेश गर्ने खबर बाहिरिएको छ । रेडियो नेपालकी जागिरे उनी कहिले नेपाली कांग्रेस, कहिले राजावादीसँग निकट हुँदै पछिल्लोपटक राप्रपामा प्रवेश गरेकी थिइन् । कलाका माध्यमबाट ‘सेलिब्रेटी’ बनेकी उनी राप्रपा प्रवेश गरेको केही महिनामै भएको सो पार्टीको महाधिवेशनबाट केन्द्रीय सदस्य नै बन्न सफल भइन् । तिनै कोमल अब पुनः एमाले प्रवेश गर्दै छिन् ।

केही वर्षअघि नायिका रेखा थापा माओवादीमा प्रवेश गरेकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएर संविधानसभाको पहिलो निर्वाचनमा पहिलो पार्टी बनेपछि त्यता आकर्षित भएकी रेखालाई माओवादीले दोस्रो संविधानसभा निर्वाचनमा पर्साबाट प्रत्यक्षतर्फको टिकट दिने पक्का गरेको थियो । तर, मतदाता नामावलीमै नाम नभएपछि रेखा उम्मेदवार होइन मतदाता पनि भइनन् ।

तिनै रेखा पछिल्लो समय कोमल ओलीको प्रभावले राप्रपामा लागेको सर्वत्र चर्चा थियो । एकता अधिवेशनबाट उनी पनि राप्रपाको केन्द्रीय सदस्य बन्न सफल भएकी थिइन् । महाधिवेशनको केही महिनामै राप्रपा तीन भागमा विभाजित हुँदा रेखा पशुपति शमशेरतिर लागिन् भने कोमल ओली कमल थापातिर ।

कलाकारितामा बिस्तारै ‘क्रेज’ घट्दै गएपछि अन्य कलाकारहरू पनि राजनीतिको रसमा डुब्न पाइने धेयले राजनीतिमा लागेका थिए । तीन वर्षअघि एमालेमा लागेका भुवन केसी सो पार्टीले सांसद नबनाएपछि अहिले राजनीतिबाट विरक्तिएर हिँडेका छन् । लामो समयसम्म नेपाली चलचित्र जगत्मा लागेर नाम र दाम कमाएकी करिश्मा मानन्धर पनि कलाको माध्यमबाट कमाएको ख्यातिलाई राजनीतिमा प्रयोग गर्ने ध्येयले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागिन् । नयाँ शक्तिले उनलाई केही अवसर पनि दियो । तर, भएभरका आशालाग्दा नेताहरूले सो पार्टी परित्याग गरेपछि नयाँ शक्ति नै शक्तिहीन बन्न पुगेपछि करिश्मा पनि विलखबन्धनमा परेकी छिन् ।

भन्न त राजनीतिलाई पेसा होइन, सेवा भनिन्छ । तर, नेपाली कलाकारहरू अवसरको खोजी गर्दै एकपछि अर्काे पार्टीमा लाग्ने र आफूले खोजेजस्तो अवसर नपाएपछि त्यो पार्टीलाई छाडेर फेरि अर्काे पार्टीमा लाग्ने गर्न थालेका छन् । कुनै पनि पार्टी नेतृत्वले पार्टीमै जीवन बलिदान गरेका व्यक्तिलाई पछि पारेर समाजको अन्य क्षेत्रबाट आएका व्यक्तिलाई बढी अवसर दिन सक्ने कुरै भएन ।

अहिले एमालेमा लाग्ने तयारी गरेकी कोमल ओली पनि अवसरकै खोजीमा एमाले प्रवेश गर्न लागेकी हुन् भन्नेमा कुनै आशंका छैन । प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचनको मुखैमा आएर हुन लागेको उनको एमाले प्रवेशलाई ‘अवसरकै खेती’ मान्नेहरू धेरै छन् । स्वयं कोमलले पनि आफूले एमालेका अध्यक्ष केपी ओली वरिष्ठ नेता माधवकुमार नेपाललगायतसँग भेटेर आफूले भविष्यमा के जिम्मेवारी पाउने भनेर टुंगो लगाएको बताएकी छिन् । आफू सांसद बन्न एमाले प्रवेश गर्न नलागेको बताएकी उनलाई एमालेले कुन सर्तमा भित्र्याउन लागेको हो भन्ने कुरा प्रकाशमा आइसकेको छैन ।

यद्यपि, एमाले नेताहरूको आश्वासनका कारण उनी सो पार्टीमा प्रवेश गर्न लागेकी हुन् भन्नेमा कसैलाई शंका छैन । कोमल ओली एमालेमा लाग्दै गर्दा नयाँ शक्तिकी करिश्मा मानन्धर र राप्रपाकै अर्की नेतृ रेखा थापा आगामी दिनमा कता लाग्लान् भन्नेमा धेरैको चासो देखिन्छ । अवसरको खोजीमा तत्तत् पार्टीमा लागेका उनीहरूको आफ्नो पार्टी ‘मरिच चाउरिएझैँ’ चाउरिन थालेपछि अब यी दुई नेतृहरू पनि अन्य बलवान् पार्टीसँग आकर्षित भए भने त्यसमा कसैले ‘अचम्म’ मान्नुपर्दैन ।
स्रोत : हरेकपल