पोखरा- पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परी मृत्यु भएका तथा घाइते भएकाहरूको पहिचान खुलेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू ट्युसन पढ्न जाने क्रममा बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमध्ये दुई जना विद्यार्थी र एक जना ६५ वर्षीय स्थानीय बाबुराम तिवारी रहेको गण्डकी अस्पतालले जनाएको छ। अन्य दुई जनाको पहिचान खुल्न बाँकी छ।
अस्पतालका अनुसार ममता तिवारी र अशिम कँडेलको बिहान ८ः३५ बजे मृत्यु घोषणा गरिएको थियो। दुर्घटनामा परेका बाबुराम तिवारी उपचारका लागि लिफ्ट मागेर बसमा चढेका यात्रु रहेको बताइएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी १५ वर्षीया अस्मी कँडेलको टाउको र ढाडमा चोट लागेको छ। अन्य घाइतेमध्ये अधिकांश विद्यार्थी रहेका छन्। उनीहरूको टाउको, ढाड, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ।
गण्डकी अस्पतालमा उपचार भइरहेका घाइतेहरूमा स्नेहा गौतम, सोनिया तिवारी, अंकित पराजुली, स्मृति खत्री, स्नेहा तिवारी, आकृती बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य र यमन मगर रहेका छन्। बस चालक तुलबहादुर गुरुङ पनि घाइते भएका छन्।
त्यस्तै, गण्डकी मेडिकल कलेजमा सृष्टि तिवारी, शिसन थापा मगर र सौगात तिमिल्सिनाको उपचार भइरहेको छ। उनीहरू तीनै जना कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
दुर्घटनामा परेकाहरूको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

















