कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप कार्यक्रम शुभारम्भ गरेका छन् । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम शुरु गरेपछि गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट खोप कार्यक्रमको शुभारम्भ गरेका हुन् ।


ADVERTISEMENT


बिहान १०ः३० बजे मुख्यमन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यलाई खोप सामग्री हस्तान्तरण गरेपछि प्रदेशका ११ वटै जिल्लामा खोप अभियान शुरुआत भएको घोषणा गरिएको थियो । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलगायत कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि गण्डकी प्रदेशमा पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहेका फिजिसियन प्रा डा बुद्धिबहादुर थापालाई लगाइएको छ ।


ADVERTISEMENT

# # #


खोप लिएपछि प्राध्यापक थापाले संसारलाई हायलकायल बनाएको कोरोनाविरुद्धको खोपको प्रतीक्षामा सबै स्वास्थ्यकर्मी रहेकामा महामारी शुरु भएको एक वर्षभित्रमा खोप प्राप्त भएपछि गण्डकी प्रदेशभर सकारात्मक सन्देश जाने विश्वास आफूले लिएको बताए । “भ्याक्सिन लगाएपछि केही अप्ठ्यारो अनुभव भएको छैन, कोभिड–१९ विरुद्धको अभियानमा सबैभन्दा अत्यावश्यक भ्याक्सिन पाएपछि हामी सबै स्वास्थ्यकर्मी उत्साहित भएका छौँ । सम्पूर्ण जनतालाई प्रेरणा दिनका लागि म आफँैले खोप लगाउन शुरुआत गरेको छु, सबै जनतालाई खोप प्रयोग गरिदिन आग्रह गर्दछु ।”

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोना महामारीविरुद्ध शुरुआती शून्यताको अवस्थाबाट छोटो समयमा सुविधासम्पन्न प्रयोगशाला, स्वास्थ्य उपकरण तथा जनशक्तिका क्षेत्रमा महत्वपूर्ण सफलता हासिल भएको बताए । महामारी शुरु भएको एक वर्षभन्दा कम अवधिमा भौतिक पूर्वाधार र स्वास्थ्य संरचनाको सृदृढीकरण, उपकरण व्यवस्थापन तथा ६८ स्थानमा प्रयोगशाला स्थापना भएर कोभिड–१९ विरुद्धको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएर काम गर्नेहरुबाट ठूलो योगदान भएको उनले बताए ।

मुख्यमन्त्री गुरुङले भने, “गण्डकी प्रदेशसहित नेपालभर कोरोना भ्याक्सिन शुुरुआत भएबाट कोभिड–१९ को विरुद्धको लडाइँमा ठूलो सफलता हासिल भएको छ, महामारी प्रारम्भ भएको एक वर्ष नपुग्दै खोपको अनुसन्धान तथा उत्पादन आउनुु विज्ञान प्रविधिका कारणले सम्भव भएको छ ।” गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले गत वर्ष माघ १० गते नेपालमा पहिलो कोरोना सङ्क्रमण देखिएपछि प्रदेश सरकाले माघ १२ गतेदेखि कोरोनाविरुद्ध योजनाबद्ध कार्यक्रम शुरु गरेको जानकारी दिए ।

सङ्घीय शासन व्यवस्थाका कारणले महामारीविरुद्धको लडाइँ लड्न सफल भएको बताउँदै उनले अप्ठ्यारो अवस्थामा सरकारले सबैबाट सहयोगको साथ पाएको उल्लेख गरे । गण्डकी प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप दिइने निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार प्रदेशका ११ वटै जिल्लामा खोप कार्यक्रम शुरु भएको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित सङ्क्रामक तथा सरुवा रोग अस्पताल, मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा खोप केन्द्र तोकिएको छ । प्रतिष्ठानका निर्देशक आचार्यले अस्पतालमा खोप लगाउने जनशक्ति अभाव नरहेको बताए। उनका अनुसार प्रतिष्ठानमा दुई हजारजनाले पहिलो चरणको खोप लिनेछन् । कोरोना खोप प्रत्येक व्यक्तिलाई दुई डोज दिइने र पहिलो मात्रा लिएको एक महिनापछि अर्को मात्रा दिइने जनाइएको छ । गण्डकीमा पहिलो चरणमा ३९ हजार १३९ मात्रा खोप प्राप्त भएको निर्देशनालयले जनाएको छ ।

तनहुँका एक हजार ६७९ स्वास्थ्यकर्मीलाई खोप

तनहुँ – कोभिड–१९ विरुद्धको खोप आजदेखि तनहुँमा शुरु गरिएको छ । जिल्लाभरिका एक हजार ६७९ जना स्वास्थ्यकर्मीलाई पहिलो चरणको खोप शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका रहेका छन् । जसअनुसार व्यास नगरपालिकामा–५५८, शुक्लागण्डकी नगरपालिकामा–२६७, भीमाद नगरपालिकामा–१७७ र भानु नगरपालिकामा–१७१ जना स्वास्थ्यकर्मी रहेका छन् ।

त्यसैगरी बन्दीपुर गाउँपालिकामा–१५, ऋषिङगाउँपालिकामा–९८, देवघाट गाउँपालिकामा–८७, म्याग्दे गाउँपालिकामा–८२, आँबुखैरेनी गाउँपालिकामा–७३ र घिरिङगाउँपालिकामा–६१ गरी कूल एक हजार ६७९ जना स्वास्थ्यकर्मीलाई उक्त खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

आजदेखि शुरु भएको यो अभियान माघ १९ गतेसम्म सञ्चालन गरिनेछ । उनले भने, “सबै तहका स्वास्थ्यकर्मीहरु दमौली अस्पतालमा नै आएर खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ ।”

एइएफआई व्यवस्थापन समिति गठन

खोपबाट हुन सक्ने अवाञ्छित घट्ना व्यवस्थापनका लागि दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौड्यालको संयोजकत्वमा चार सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सहसंयोजक मेडिकल अधिकृत डा सिन्चन पाण्डे, व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती र अनमी दीपा पाण्डे रहेका छन् ।

खोपबाट हुन सक्ने जोखिमका लागि व्यवस्थापन समिति तयारी अवस्थामा रहेको मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौड्यालले जानकारी दिए । खोप लगाएपछि कसैलाई पाँच मिनेटमै असर गर्ने र कसैलाई दुई घण्टापछि पनि देखा पर्न सक्ने भएकाले व्यवस्थापन समिति तयारी अवस्थामा बस्नुपर्ने उनले बताए । कोभिड–१९ विरुद्धको खोप सुरक्षित नै मानिएको छ । उनले भने, “पहिलोपटक प्रयोग गरिएकाले कति सुरक्षित भन्ने पनि हुन सक्छ ।”

खोप लगाएपछि कसैकसैमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी आउने जस्ता समस्या हुन सक्ने हुँदा स्वास्थ्यकर्मीको टोली सचेत भएर बस्ने व्यवस्था मिलाइएको छ । जिल्लाभरिका स्वास्थ्यकर्मीलाई दमौली अस्पतालमा नै आएर उक्त खोप लगाउन व्यवस्था मिलाइएको छ । खोप लगाएपछि कुनै त्यस्तो समस्या देखिएमा तुरुन्तै उपचारमा खटिने गरी स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । रासस